मानव वन्यजन्तु द्वन्द्व समाधानबारे पदाधिकारीसँग छलफल
नेपालगन्ज । राष्ट्रिय निकुञ्ज क्षेत्रमा देखिएको मानव वन्यजन्तु द्वन्द्वको समस्या समाधान र भावी योजना निर्माणबारे मुख्यमन्त्री चेतनारायण आचार्यले निकुञ्जका जिम्मेवार पदाधिकारीसँग छलफल गर्नुभएको छ । बर्दिया राष्ट्रिय निकुञ्ज मुख्यालय क्षेत्रको अवलोकनको क्रममा मुख्यमन्त्री आचार्यले मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने नागरिकहरूले भोग्दै आएका समस्या समाधानको बारेमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक वेदकुमार ढकालले र बर्दिया राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत डा।अशोक कुमार राम लगायत सम्बद्ध पक्षसँग छलफल गर्नुभएको मुख्यमन्त्रीका स्वकीय सचिव कुशल भुसालले जानकारी दिनुभयो ।

‘मानव वन्यजन्तुको द्वन्द्व कम गर्ने विकल्प र भावी योजनाको बारेमा छलफल भएको छ,’ स्वकीय सचिव भुसालले भन्नुभयो, मध्यवर्ती क्षेत्रमा बसोबास गर्दै आउनुभएका नागरिकको दैनिक कामकाज देखि उहाँहरूको जीविकोपार्जनको बारेमा समेत छलफल भएको छ । प्रदेश सरकारले सञ्चालन गर्दै आएको कार्यक्रमको बारेमा समेत जानकारी गराइएको छ ।’
लुम्बिनी प्रदेशमा मानव वन्यजन्तु द्वन्दका कारण गत आर्थिक बर्ष २०८०/८१ मा पाँच जनाको मृत्यु भएको र आठ जना घाइते भएको प्रदेश वन तथा वातावरण मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख छ ।
जसमध्ये बर्दिया जिल्लामा मात्र चार महिला तथा एक बालक गरी पाँच जनाको मृत्यु भएको थियो । एक वर्षमा भेडा–बाख्रा २१७, गाई–भैँसी ३१, बङ्गुर ४५, हाँस–कुखुरा १८१ वटाको मृत्यु भएको छ भने स्याल, चितुवा, वन बिरालो, नीलगाई, अजिङ्गर, बँदेल, बाँदर गरी ४१ वटा वन्यजन्तुको पनि मृत्यु भएको छ । १४ वटा चितुवा र मृग समेत घाइते भएका छन् ।
लुम्बिनी प्रदेश सरकारले मानव–वन्यजन्तु द्वन्द्व घटाउन वन्यजन्तुको सुरक्षित बासस्थान, आहारा प्रजातिको व्यवस्थापन, पानीको मुहान तथा सिमसार संरक्षण, वनभित्र संरक्षण पोखरी निर्माण लगायतका योजनाका काम गर्दै आएको छ ।








प्रतिक्रिया राख्नुहोस्