सवारी साधन कारबाहीबाट २४ लाख बढी राजस्व सङ्कलन
बाँके । बाँके जिल्लामा गत मङ्सिर महिनामा सवारी कारबाहीबाट २४ लाख बढी राजस्व सङ्कलन भएको छ । यो अवधिमा ट्राफिक कारबाहीतर्फ २ हजार ८ सय ८६ वटा सवारी साधनलाई कारबाही गरी २४ लाख ७१ हजार पाँच सय रुपियाँ राजस्व सङ्कलन गरेको प्रहरी उपरीक्षक तुल बहादुर कार्कीले जानकारी दिनु भयो ।
उहाँले भन्नुभयो, अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन गर्ने चार वटा ट्याक्टरलाई नियन्त्रणमा लिएर सम्बन्धित निकायमा कारबाहीका लागि पठाइएको र ४६ हजार रुपियाँ जरिवाना गराइएको छ ।
बाँके प्रहरीका अनुसार गत मङ्सिर महिनामा प्रहरीले विभिन्न अपराधसम्बन्धी ८४ वटा मुद्दा दर्ता गरेको छ भने विभिन्न मुद्दामा संलग्न ५२ जना अभियुक्तहरूलाई पक्राउ गरी कानुनी दायरामा ल्याएको छ । त्यसैगरी सात वर्ष दुई महिना २० दिन कैद सजाय तोकिएका ५४ जना फरार अपराधीहरूलाई पक्राउ गरिएको र उनीहरूबाट आठ लाख ६३ हजार आठ सय रुपियाँ जरिवानासमेत असुल गरिएको जनाएको छ । यसै अवधिमा ३८ वटा पेण्डिङ मुद्दाहरू फर्छ्यौट गरिएको छ । चार सय २८ वटा ठाडो उजुरी दर्ता भएकोमा चार सय १६ उजुरी फर्छ्यौट गरिएको र १२ वटा उजुरी फर्छ्यौट प्रक्रियामा रहेको प्रहरी उपरीक्षक कार्कीले बताउनु भयो ।
लागूऔषध ओसारपसारविरुद्ध योजनाबद्ध रुपमा प्रहरी परिचालन गरी १६१ ग्राम ९५० मिलिग्राम ब्राउनसुगर र नाइट्राजेपाम ८० ट्याब्लेट, ट्रामाडोल ४३६ ट्याब्लेटसहित ओसारपसारमा संलग्न १६ जनालाई कानुनी दायरामा ल्याइएको छ ।
आन्तरिक सुदृढीकरण प्रयासअन्तर्गत ‘बेष्ट पुलिस युनिट अफ द मन्थ’ मङ्सिर महिनाको उत्कृष्ट प्रहरी कार्यक्रमअन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्यालय कोहलपुरलाई प्रदान गरिएको छ ।
घरेलु हिंसासम्बन्धी ५० वटा उजुरी दर्ता भएको जनाएको छ । प्रहरीका अनुसार ५० उजुरीमध्ये ३६ वटा उजुरी फर्छ्यौट भएको र बाँकी १४ वटा उजुरी उपर अनुसन्धान कारबाही प्रक्रियामा छन् ।
जिल्ला ट्राफिक कार्यालयले सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक व्यवस्थापनको लागि ट्राफिक जनचेतनामूलक कार्यक्रमहरू पनि सञ्चालन गर्दे आइरहेको छ ।
प्रतिक्रिया राख्नुहोस्