प्रधानमन्त्री विरुद्ध भ्रामक प्रचार, दोषीमाथि कारबाही गर्न प्रेस चौतारीका महासचिवको माग
काठमाडौँ । प्रेस चौतारी नेपालका महासचिव हीरामान लामाले नेकपा एमाले तथा त्यसको नेतृत्वका विरुद्ध लगातार भ्रम फिँजाउने तत्त्व नियोजित रूपमा लागेको भन्दै उनीहरूमाथि कारबाहीको माग गर्नुभएको छ ।
नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सामाजिक सञ्जालमार्फत अनेक खालका भ्रम फैलाउने कार्य निरन्तर भइरहेका छन् । सोही क्रममा विभिन्न ठाउँका भिडियोहरू जोडेर हिजो (मङ्गलवार) प्रधानमन्त्री ओलीमाथि काभ्रेपलाञ्चोकमा दुर्व्यवहार प्रयास भन्दै सामाजिक सञ्जालमा केहीले भ्रम फिँजाउने प्रयास गरेपछि महासचिव लामाले कारबाहीको माग गर्नुभएको हो ।
मङ्गलवार दिनभरि ललितपुर महानगरपालिकाको कार्यक्रममा रहनुभएका प्रधानमन्त्री ओली काभ्रेपलाञ्चोक जानुभएको र उहाँमाथि दुर्व्यवहार प्रयास भएको भन्दै सामाजिक सञ्जालमार्फत भ्रम फिँजाउने कोसिस भएको छ ।
प्रधानमन्त्री ओली मङ्गलवार ललितपुर महानगरपालिकाको १०६औँ स्थापना दिवसको कार्यक्रममा प्रमुख अतिथिको रूपमा सहभागी हुनुहुन्थ्यो ।
प्रधानमन्त्री ओलीको हिजो (मङ्गलवार)काभ्रेपलाञ्चोकमा कुनै कार्यक्रम नरहेको र उहाँ त्यहाँ नजानुभएको प्रधानमन्त्रीको सचिवालयले पुष्टि गरेको छ । यसले यो कार्य उहाँ र एमाले विरुद्ध फैलाइका भ्रम हो भन्न पुष्टि भएको छ ।
प्रेस चौतारी नेपालका महासचिव एवम् काभ्रेपलाञ्चोकका पत्रकार लामाले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीको हिजो (मङ्गलवार) काभ्रेपलाञ्चोक जिल्लामा कुनै कार्यक्रम नभएको बताउनुभयो ।
‘सामाजिक सञ्जालमा फैलाइएका तथ्यहीन र भ्रमपूर्ण समाचारप्रति खेद व्यक्त गर्दछु, षडयन्त्रपूर्ण ढङ्गले गलत सूचना प्रवाह गर्नेहरूउपर हदैसम्मको कानुनी कारबाहीको माग गर्दछु’, महासचिव लामाले भन्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्