तपाईँ सुन्दै हुनुहुन्छः

संसदीय व्यवस्थाको महत्व बुझाउन पत्रकारिताको भूमिका महत्वपूर्ण छ : सभामुख घिमिरे 

काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले समाजमा संसदीय व्यवस्थाको महत्व बुझाउन पत्रकारिताको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ ।

संसदीय पत्रकारिता, अवधारणा र अभ्यास’ नामक पुस्तकको आज काठमाडौँमा विमोचन गर्दै सभामुख घिमिरेले संसदीय गतिविधि जनतामा पुर्‍याउन र यसको उचाइ बढाउन संसदीय पत्रकारिताको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।

संसदीय पत्रकारिता विशिष्ट काम भएको बताउँदै सभामुख घिमिरेले संसदको विशेष अधिकार ठिक ढंगले अगाडी बढाउन पत्रकारहरूले मेहनतपूर्वक काम गरेको बताउनुभयो ।

सभामुख घिमिरेले संघीय संसदको समितिहरूमा अहिले छलफलमा करिब २० वटा विधेयक आगामी अधिवेशनमा सभामा पेश गर्नेगरी काम गर्न र समितिहरू नियमित ढङ्गले सञ्चालन गर्न दलका नेता तथा समितिका सभापतिहरूलाई पटक पटक निर्देशन दिने काम गरिरहेको पनि बताउनुभयो ।

राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सांसद र पत्रकारहरूबिचका सम्बन्धमा अझ सहज सुमधुर बनाउनका लागि खुल्ला बहस हुनुपर्नेमा जोड दिनुभयो । 

अध्यक्ष दाहालले सबै पत्रकारहरूमा आलोचनात्मक चेत हुनुपर्ने भन्दै आचारसंहिता पालना गर्ने कुरामा पनि सबै पक्ष गम्भीर र संवेदनशील हुनुपर्ने बताउनुभयो ।

उहाँले संसदीय पत्रकारिता, अवधारणा र अभ्यास’ पुस्तका सांसद, संसदका पदाधिकारी र सबै पत्रकारहरूका लागि महत्वपूर्ण हुने पनि बताउनुभयो ।

उपसभामुख इन्दिरा राना मगरले पत्रकारहरूलाई निराश हुने मात्र नभई मानिसमा उत्साह र जाँगर आउने समाचार लेख्न पत्रकार जगतलाई आग्रह गर्नुभयो ।

संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेयले संसदीय मामिला पत्रकार समाजले प्रकाशन गर्दै आएको संसदीय रिपोर्टिङ सम्बन्धी पुस्तक पत्रकारका लागि मात्रै नभई संसद् बुुझ्न चाहने सबैका लागि महत्वपूर्ण रहेको बताउनुभयो ।

राष्ट्रिय सभाका पूर्व सचिव राजेन्द्र फुयाँल, पत्रकार जगत नेपाल, पत्रकार हरिबहादुर थापालगायतले ‘संसदीय पत्रकारिता, अवधारणा र अभ्यास’ पुस्तकको समीक्षा गर्दै नेपालको संसदीय इतिहासको अझै खोजी हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button