नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेश समितिमा चौलागाईं नेतृत्व प्यानल निर्वाचित
बाँके । नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेश समितिको निर्वाचनमा प्रेस युनियन नेपाल र प्रेस चौतारी नेपालको संयुक्त प्यानलनै निर्वाचित भएको छ। शुक्रऋषि चौलागाईंको नेतृत्वमा सम्पूर्ण प्यानलनै निर्वाचित भएको हो ।
नयाँ नेतृत्वले पत्रकारिताको मर्यादा, स्वतन्त्रता, र अधिकार सुनिश्चित गर्न प्रतिबद्धता व्यक्त गरेको छ। निर्वाचन परिणाम अनुसार अध्यक्षमा शुक्रऋषि चौलागाईंले ५९९ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ।
उहाँका निकटतम प्रतिद्वन्द्वी रुद्र सुवेदीले ३९१ मत ल्याउनुभएको थियो । उपाध्यक्ष पदमा रामप्रसाद आचार्यले ६५६ मत ल्याएर निर्वाचित हुनुभएको छ भने उहाँका प्रतिद्वन्द्वी आशिष कुमार गुप्ता र जुमानसिङ केसीले क्रमशः १५० र १५५ मत प्राप्त गर्नुभएको छ। महिला उपाध्यक्षमा मिना ढकाल ६२१ मतसहित निर्वाचित हुनुभएको छ, जहाँ निकटतम प्रतिद्वन्द्वी मेनका चौधरिले ३१२ मत प्राप्त गर्नुभएको थियो।
महासचिव पदमा पाण्डव शर्माले ५१६ मतसहित निर्वाचित हुनुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी डाक्टर धितालले ३३० र राजु खरालले १५० मत ल्याउनुभएको थियो। सचिव पदमा गोविन्दप्रसाद शर्मा निर्विरोध निर्वाचित हुनुभयो। समावेशी सचिवमा सरला सुवेदीले ६०२ मतसहित निर्वाचित हुनुभएको छ भने, जबकि चिन्ता परियारले ३३२ मत पाउनुभएको थियो। कोषाध्यक्ष पदमा प्रेम नारायण आचार्यले ६४३ मत ल्याएर निर्वाचित हुनुभएको छ भने निकटतम प्रतिद्वन्द्वी दीपेश पराई बिष्टले २७१ मत ल्याउनुभएको थियो।
सदस्य पदतर्फ, खुला सदस्यमा तेजेन्द्र केसी, निर्मल आचार्य, प्यार अली खान, बसन्त बन्जाडे, र हिमबहादुर घर्तिक्षेत्री निर्वाचित हुनुभएको छ। महिला सदस्यमा सबिता चौधरी, सरिता चौधरी थारु, र सिता पाण्डे निर्वाचित हुनुभएको छ। भने दलित सदस्यमा दलबहादुर सुनार निर्वाचित हुनुभयो। आदिवासी जनजाति सदस्यतर्फ दिलबहादुर गाहा र लिलाराज बुढामगर निर्वाचित हुनुभएको छ। मधेसी सदस्यतर्फ ओमप्रकाश गुप्ता र देवबहादुर यादव निर्वाचित हुनुभएको छ। अल्पसङ्ख्यक सदस्यमा रवीन्द्र यादव निर्वाचित हुनुभयो।
निर्वाचित अध्यक्ष शुक्रऋषि चौलागाईंले मतदाताप्रति आभार व्यक्त गर्दै पत्रकारहरूको हक अधिकार र प्रेस स्वतन्त्रता सुनिश्चित गर्न पहिलो प्राथमिकता दिने बताउनुभयो। महिला उपाध्यक्ष मिना ढकालले पत्रकारितामा महिलाको भूमिका थप सशक्त बनाउने प्रतिबद्धता जनाउनुभयो।
नयाँ नेतृत्वबाट पत्रकारिताको नैतिकता र अधिकार सुनिश्चित गर्दै क्षेत्रीय सञ्चार क्षेत्रलाई उचाइमा पुर्याउने विश्वास गरिएको छ।







प्रतिक्रिया राख्नुहोस्