तपाईँ सुन्दै हुनुहुन्छः

नागरिकलाई घरआँगनमै सरकार रहेको आभास भएको छ : उपराष्ट्रपति

काठमाडौँ I उपराष्ट्रपति रामसहायप्रसाद यादवले काठमाडौँ महानगरपालिकाले महानगरवासीलाई घरआँगनमै सरकार रहेको आभास गराएको बताउनुभएको छ ।  

तिसौँ महानगर दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उहाँले स्थानीय निकायको सक्रियताबाट जनताले आफ्नै घरआँगनमा सहज सेवा पाएको बताउनुभयो ।

काठमाडौँ महानगरले आयोजना गरेको उक्त कार्यक्रममा उपराष्ट्रपतिले सांस्कृतिक, ऐतिहासिक र पुरातात्त्विक सम्पदाले भरिपूर्ण काठमाडौँ महानगर सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको केन्द्रीय राजधानी तथा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय केन्द्रबिन्दु हो भन्नुभयो । उहाँले विश्व सम्पदा क्षेत्रमा समेटिएका सांस्कृतिक वैभव, मौलिक पहिचान संरक्षणमा जोड दिनुभयो । 

महानगरले मतदातालाई प्रवाह गरेका सेवा अन्य स्थानीय तहका लागि अनुकरणीय रहेका उल्लेख गर्दै उहाँले सङ्घीयता कार्यान्वयनमा युवा वर्गले सशक्त भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । 

उपराष्ट्रपति यादवले सहरी सुव्यवस्थापन, नदी तथा जल प्रणाली सुधार, हरियाली प्रवद्र्धन, मठमन्दिरजस्ता सम्पदाको संरक्षण, पोखरीको पुनःस्थापना, एकीकृत सहरी विकास गरेकामा महानगरको सराहना गर्नुभयो । 

महानगर प्रमुख बालेन्द्र शाहले ७७ वटै जिल्लाका नागरिकका लागि बस्न  लायक महानगर बनाउनेतर्फ आफ्नो ध्यान केन्द्रित रहेको बताउनुभयो । 

उपप्रमुख सुनिता डङ्गोलले पूर्वाधार विकासलाई महानगरले पहिलो प्राथमिकता दिएको जानकारी दिनुभयो ।  

विसं १९९६ पुस ३ गते स्थापना भएको सफाइ अड्डालाई २०५२ मङ्सिर २९ गते काठमाडौँ महानगर घोषणा गरिएको हो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button