शुक्रबारदेखि पोखरा खुला एमेच्योर गल्फ प्रतियोगिता हुने

पोखरा । पर्यटकीय नगरी पोखरामा आउँदो शुक्रबार (मङ्सिर २८ गते) देखि पोखरा खुल्ला एमेच्योर गल्फ प्रतियोगिता हुने भएको छ । कास्की जिल्ला गल्फ सङ्घको आयोजनामा पोखरा १४ मझेरीपाटनस्थित हिमालयन गल्फ कोर्षमा मङ्सिर ३० गते(शनिबार) सम्म उक्त प्रतियोगिता हुने भएको बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।
उक्त प्रतियोगितामा पोखरा सहित काठमाण्डौं, धरान र महोत्तरी सहित विभिन्न क्षेत्रका ६० जना खेलाडी सहभागी हुने भएको संघ कास्कीका अध्यक्ष जिवाराम गुरुङले बताउनु भयो । प्रतियोगितामा पोखरा २ सहित करिब ६ जना महिला खेलाडीहरू सहभागी हुने भएको उहाँले जनाउनु भयो ।
पार ६९ को कोर्षमा नेपालका विभिन्न गल्फ क्लबबाट एमेच्योर गल्फरको सहभागी हुने सङ्घले जनाएको छ । पहिलो दिन मङ्सिर २८ गते टिम इभेण्टको प्रतिस्पर्धा हुने भएको छ । टिम इभेण्टमा दुई जना गल्फर रहने प्रावधान छ । पहिलो दिन बेटर बल (उत्कृष्ट स्कोर)को आधारमा विजेता घोषणा गरिने छ । विजेताले ५० हजार, उपविजेताले भने ३० हजार र तेस्रो स्थानमा रहने टिमलाई २० हजारको साथमा ट्रफी मेडल प्रमाण पत्र वितरण गरिने भएको द्वितीय उपाध्यक्ष वालकासी गुरुङले जनाउनु भयो ।
प्रतियोगितामा टिम इभेण्ट पुरुष, पुरुष खुल्ला, महिला खुल्ला र यु—१६ गरी चार इभेण्टमा प्रतिस्पर्धा हुने भएको हो । दोस्रो दिन महिला तथा पुरुष तथा यु-१६ को इभेण्ट हुने छ । १८ होलको प्रतिस्पर्धा स्टेबलफोर्ड ३/४ ह्याण्डी क्यापमा खेलाइने छ । उत्कृष्ट प्रदर्शन गर्दै विजेता बन्ने पुरुष तथा महिला एवं उमेर समूहको विजेता, उपविजेता र तेस्रो स्थानमा रहने गल्फरलाई नगदसहित ट्रफी प्रदान गरिने प्रतियोगिताका संयोजक एवं संघका उपाध्यक्ष भक्तराज गुरुङले जानकारी दिनुभयो ।
प्रतियोगिता सम्पन्न गर्न करिब १० लाख खर्च हुने सङ्घले जनाएको छ भने प्रतियोगिता सम्पन्न गर्न करिब ९ लाख ५० हजार खर्च हुने उहाँले जनाउनु भयो । प्रतियोगिताबाट बचत भएको रकम सङ्घले स्थापना गर्न खोजेको पोखरा रंगशालाको गल्फ एकेडेमी निर्माणमा खर्च गर्ने भएको छ । पोखरा र यस क्षेत्रमा गल्फ खेल पर्यटनको अथाह सम्भावना भएको संघ गण्डकी प्रदेशका अध्यक्ष इन्द्रधारा विष्टले बताउनु भयो ।
प्रतिक्रिया राख्नुहोस्