१४ वर्षदेखि मौरीसँग रमाउँदै कैलालीका घनश्याम
टीकापुर (कैलाली) । कैलालीको गौरीगङ्गा नगरपालिका वडा नम्बर-९ शङ्करपुरका घनश्याम पौडेल आजभोली मौरीको स्याहारसुसार तथा मह सङ्कलनमा व्यस्त हुनुहुन्छ । विगत १४ वर्षदेखि मौरीपालन व्यवसाय गरिरहनु भएका पौडेल आजभोली तोरीको मह सङ्कलन गर्ने समय भएकाले त्यसैमा व्यस्त हुनुहुन्छ । सुरुमा ५ घार मौरीबाट व्यवसाय शुरु गर्नु भएका पौडेलसँग अहिले ५५ घार मौरी छन् ।
बिचमा उहाँले एक सय ४० घारसम्म मौरी पुगाउनु भएको थियो । उहाँले मौरीको मह मात्र नभई मौरी चाहिएकालाई मौरीका घार समेत बेच्ने भएकाले अहिले मौरीको सङ्ख्या कम भएको हो । पहिले पत्रकारिता गर्ने पौडेलले स्थानीय प्रगतिशील मौरीपालन सहकारी संस्थाका कथा व्यथा लेख्दा लेख्दै आफु पनि मौरी पालन व्यवसायमा जोडिन पुगेको पौडेलको भनाई छ ।
उहाँलाई मौरीपालन व्यवसाय गर्न घर परिवारले पूर्ण रुपमा साथ दिएको छ भने आवश्यक परेको खण्डमा अन्य व्यक्तिको पनि सहयोग माग्नुहुन्छ । पहिले पहिले मौरीको महको व्यापार राम्रो नभए पनि कोरोनापछि मानिसहरूले मह खान थालेका र आफ्नो व्यापार पनि राम्रो भएको पौडेलको अनुभव रहेको छ ।
अहिले पौडेल वर्षमा २० देखि ३० क्विन्टलसम्म मह उत्पादन गर्नुहुन्छ । त्यो मह प्रति किलो ५ सय देखि ८ सय रुपैयाँका दरले बजारमा बेच्ने गर्नुहुन्छ । त्यसबाट पौडेललाई राम्रो आम्दानी भइरहेको छ । सुरुमा घार किन्ने समयमा प्रति घारको १० हजार रुपैयाँ पर्ने भएपनि पछि अन्य खर्च कम लाग्ने भएकाले यो व्यवसायबाट भएको आम्दानीले आफू सन्तुष्ट रहेको पौडेलको भनाई रहेको छ ।
‘आफूलाई भएको राम्रो आम्दानीलाई मात्र हेरेर हुँदैन । बजारमा उपभोक्ताहरूलाई पनि राम्रो मह खुवाउनुपर्छ भन्ने मेरो मान्यता छ, म त्यसैमा ध्यान दिएर मह उत्पादनमा लागिरहेको छ ‘। तर पछिल्लो समय बजारमा केही व्यक्तिले राम्रो मह भन्दै विभिन्न केमिकलहरू मिसाएर बेच्ने गरेका र त्यसबाट उपभोक्ता ठूलो असर परिरहेको भन्दै त्यस विषयमा सचेत रहन उपभोक्तालाई पौडेलको आग्रह छ । यदि मह खानुपर्यो भने स्थानीय स्तरमा चिने जानेको व्यक्तिबाट खरिद गरेर खान समेत आग्रह गर्नुभएको छ ।
गर्मीको समयमा भने कैलालीमा तापक्रम बढी हुने भएकाले त्यस वेला मौरी जोगाउन पौडेल दाङ जिल्लामा समेत पुग्नु हुन्छ भने अन्य समयमा कैलाली जिल्लामै मौरी पालन गर्दै आउनु भएको छ ।
प्रतिक्रिया राख्नुहोस्