तपाईँ सुन्दै हुनुहुन्छः

रामकलेवा विधिसँगै यस वर्षको विवाहपञ्चमी महामहोत्सव सम्पन्न 

oplus_2

जनकपुरधाम । जनकपुरधाममा जारी श्री सीताराम विवाहपञ्चमी महामहोत्सव २०८१ आज रामकलेवा विधि भएसँगै सम्पन्न भएको छ ।

राजर्षि जनकले गर्नुभएको प्रतिज्ञा पुरा भएपछि मङ्सिर शुक्लपक्ष पञ्चमी तिथिका दिन अयोध्या नरेश दशरथका ज्येष्ठ सुपुत्र भगवान् श्री रामसँग माता सीताको प्रतिकात्मक शुभ विवाह गएराति मिथिलाको विधि अनुसार सम्पन्न भएपछि विवाह मण्डप रहेको ठाउँमा नै रामकलेवा विधि गर्ने चलन रहेको छ । 

रामकलेवा विधि अन्तर्गत राम, लक्ष्मण, भरत तथा शत्रुघ्नसहित भारतको अयोध्याबाट दशरथको रुपमा सहभागी हुनका लागि आउनुभएका विश्व हिन्दू परिषद्का महासचिव पङ्कज जी महराजसहित ५ सय जन्तीलाई जानकी मन्दिरका तर्फबाट मिथिलाको परम्परानुसार विभिन्न परिकारहरू खुवाएर उपहारसहित बिदाइ गरिएको छ ।

सो अवसरमा जनकपुरधामका जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव तथा जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले जन्तीहरूलाई नगदसहित विभिन्न उपहारहरू प्रदान गरेर बिदाइ गर्नुभयो । 

गत मङ्सिर १८ गते जनकपुरधाममा सम्पन्न भएको धनुष यज्ञमा सहभागी हुनका लागि भारतको अयोध्याबाट बाजा, गाँजा, झाँकीसहित पाँच सयको सङ्ख्यामा जन्तीहरू जनकपुरधाम आएका थिए । 

मिथिलाबाँसीले भारतको अयोध्याबाट आएका जन्तीहरूलाई महोत्तरीको मटिहानीमा १ रातसहित ६ दिन राखेर भव्य रुपमा स्वागत सम्मान, आवास तथा भोजनसहित आवश्यक व्यवस्था गरेर बिदाई गरेका छन् ।

रामकलेवा तथा बिदाइमा मिथिलानीहरुले विभिन्न प्रकारका गीत, सङ्गीत तथा नृत्य प्रदर्शन गरेका थिए । यसका साथै बिदाइमा डोमकच नाचले तीर्थयात्रीहरूलाई मन्त्रमुग्ध बनाइएको थियो ।

जानकी मन्दिरमा भएको रामकलेवा विधि हेर्नका लागि ठूलो सङ्ख्यामा तीर्थयात्रीहरू उपस्थित भएको थियो । उता भारतबाट आएका जन्तीहरू रामकलेवामा सहभागी भएर आजै भारतको अयोध्याका लागि प्रस्थान गरेका छन् । 

जनकपुरधाममा यस वर्षको सप्ताहव्यापी श्री सीताराम विवाहपञ्चमी महामहोत्सव यही मङ्सिर १६ गते नगर दर्शनबाट शुरु भई २२ गते अर्थात् आज रामकलेवा गरी समापन भएको हो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button