तपाईँ सुन्दै हुनुहुन्छः

नारायणगोपाल स्मृति सम्मानबाट तीन स्रष्टा सम्मानित

काठमाडौँ । नारायण गोपाल सङ्गीत कोषले यस वर्षको नारायणगोपाल स्मृति सम्मानबाट स्रष्टाहरू शिवशङ्कर थापा, बुलु मुकारुङ र कुमार बस्नेतलाई सम्मान गरेको छ ।

स्वरसम्राट नारायण गोपालको ३४ औँ स्मृति दिवसका अवरमा कोषले आज काठमाडौँमा गरेको कार्यक्रममा यस वर्षको नारायणगोपाल स्मृति सम्मानबाट गीतकार शिवशङ्कर थापा, सङ्गीतकार बुलु मुकारुङ र गायक कुमार बस्नेतलाई सम्मान गरेको हो ।

नारायणगोपाल स्मृति सम्मानको पुरस्कार राशि जनही ५१ हजार रुपैयाँ नगद र सम्मानपत्र रहेको छ ।

यस्तै कोषले सो अवसरमा नारायण गोपाल सङ्गीत कोषका संस्थापकहरू नगेन्द्र थापा, डा विश्वम्भर प्याकुरेल, कालिप्रसाद रिजाल, सन्तोष शर्मा, नीर शाह, बसन्त चौधरी र शम्भुजित बास्कोटालाई पति कदर पत्र द्वारा सम्मान गरेको छ ।

कार्यक्रममा सङ्गीतकार बुलु मुकारुङले नारायण गोपालका सिर्जनाहरू नयाँ पुस्ताका कलाकार तथा गीत सङ्गीत क्षेत्रका अध्येताहरूका लागि सिङ्गो विश्वविद्यालयका रुपमा रहेको उल्लेख गर्नुहुँदै यसको संरक्षण र प्रचारप्रसारमा राज्यको ध्यान पुग्नुपर्ने बताउनुभयो ।

रेडियो नेपालका कार्यकारी निर्देशक अमर ध्वज लामाले नारायण गोपालका गीतले जीवनका हरेक परिस्थितिसँग लड्ने अभिप्रेरणा दिने र जीवनलाई सधैँ चलायमान बनाइराख्न सहयोग पु¥याउने बताउनुभयो ।

यस्तै कार्यक्रममा सङ्गीतकार शम्भुजित बास्कोटा, स्वर सम्राट नारायण गोपालका कान्छा भाइ लक्ष्मणगोपाल गुरुवाचार्य, नारायण गोपाल सङ्गीत कोषका अध्यक्ष दिपक केसी लगायतका वक्ताहरूले नारायण गोपालका गीत सङ्गीतमा जीवनका दुःख–पिडा, मायाँ र उमङ्गको राम्रो संयोजन पाईने हुनाले उहाँका सिर्जनाहरू सधैँ कालजयी रहिरहने बताउनुभयो ।

जादुमय स्वरका धनी स्वर सम्राट नारायणगोपालको जन्म १९९६ साल असोज १८ गते काठमाडौँको किलागलमा भएको थियो भने विसं २०४७ मङ्सिर १९ गते ५१ वर्षको उमेरमा निधन भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button