डडेल्धुराको नवदुर्गा गाउँपालिका बन्यो देशभरमै अतिरिक्त कक्षा सञ्चालन गर्ने पहिलो पालिका
डडेल्धुरा । डडेल्धुराको नवदुर्गा गाउँपालिकाले आइतबार पालिका भित्र रहेका विद्यालयहरूमा अतिरिक्त कक्षा सञ्चालन गर्ने नीतिगत निर्णय गरेको छ ।
पछिल्लो पटक विद्यार्थीहरूले राम्रो नतिजा ल्याउन नसकेकाले शिक्षा समितिको बैठकबाट सो–निर्णय गरिएको गाउँपालिका शिक्षा शाखा प्रमुख रवी चौधरीले बताउनु भयो । उहाँले शिक्षा समितिको निर्णय कार्यपालिकाबाट पारित गरि अतिरिक्त कक्षा सञ्चालन पुष १ गतेदेखि गरिने बताउनुभयाे ।
अतिरिक्त कक्षा सञ्चालन गर्ने देशभरमै रहेका ७ सय ५३ स्थानीयतह मध्ये नीतिगत रुपमा निर्णय गर्ने नवदुर्गा गाउँपालिका देशको पहिलो स्थानीयतह रहेको उहाँले बताउनु भयो ।
अहिले गाउँपालिकाले प्रत्येक ५ वटै वडामा शैक्षिक बहससमेत सञ्चालन गर्न लागेको उहाँले जानकारी दिनुभयाे । सोमबार पालिकाको वडा नं ५ मा रहेको बिजयाशैनी मावि, चामाचौडमा शिक्षाको गुणस्तर अभिवृद्धि गर्न शैक्षिक बहस आयोजना गरेको पालिकाले जनाएको छ । शिक्षक, विद्यार्थी, जनप्रतिनिधि तथा अभिभावक र व्यवस्थापन समितिहरू समेत अन्तरक्रिया गरि अतिरिक्त कक्षा सञ्चालन गर्ने पालिकाको योजना छ ।
नवदुर्गा गाउँपालिका अध्यक्ष लक्ष्मी प्रसाद अवस्थीले पालिकाको अतिरिक्त कक्षा सञ्चालन गर्ने अभियानले शैक्षिक गुणस्तर सुधारमा राम्रो प्रतिफल दिने विश्वास रहेकाे बताउनु भयो । साथै उहाँले एउटा विद्यार्थी कमजोर हुनु, असफल हुनुमा कोही जिम्मेवार नदेखिने र अन्तिममा अभिभावक वा विद्यार्थी मात्र कमजोर देखिने परिपाटीको अन्त्य गरि प्रतिस्पर्धी विद्यार्थी उत्पादन हुने बताउनु भयो ।
पालिकाले कुल ४० लाख बजेट विनियोजन गरि कक्षा ३, ५, ८ र १०मा अध्ययनरत विद्यार्थीहरूलाई गणित, विज्ञान र अङ्ग्रेजी विषयका विषयगत शिक्षकहरूले अतिरिक्त कक्षा सञ्चालन गर्ने कार्यविधि बनेको छ । अतिरिक्त कक्षामा पढाउने शिक्षकले प्रति विषय,प्रति पिरियड, प्रति विद्यार्थी रु ४ सय पाउने छन् ।
प्रतिक्रिया राख्नुहोस्