उपराष्ट्रपति यादवसँग युएईका राजदूतको शिष्टाचार भेट
काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई) का राजदूत अब्दुल्ला अल शम्सीले शिष्टाचार भेट गर्नुभएको छ ।
उपराष्ट्रपतिको कार्यालय लैनचौरमा आज भएको भेटमा उहाँहरुबीच द्विपक्षीय सम्बन्ध, श्रम र आर्थिक सम्बन्धलगायतका विषयमा छलफल भएको उपराष्ट्रपतिको निजी सचिवालयले जनाएको छ ।
उपराष्ट्रपति यादवले युएईको ५३औँ राष्ट्रिय दिवसको उपलक्ष्यमा हार्दिक शुभकामना दिँदै हालै ‘फ्लाई दुबई’ ले गौतमबुद्ध विमानस्थलमा सिधा उडान सुचारु गरेकोमा हार्दिक धन्यवाद दिनुहुँदै ‘एयर अरेबिया’ को उडान सञ्चालन गर्न महामहिम राजदूतको समन्वय तथा सहकार्यका लागि अनुरोध गर्नुभयो ।
उपराष्ट्रपति यादवले नेपाल अति कम विकसित मुलुकको सूचीबाट सन् २०२६ सम्ममा स्तरोन्नति हुने लक्ष्यका साथ अघि बढेकोले यस स्तरोन्नतिलाई दिगो, अपरिवर्तनीय र सहज बनाउन आवश्यक रहेकोमा यसका लागि युएई लगायत अन्य मित्रराष्ट्रको साथ सहयोग र सद्भावको खाँचो रहेको बताउनुभयो ।
भेटमा राजदूत शम्सीले युएईले नेपालको विभिन्न आयोजना र क्षेत्रमा सहयोग गर्न इच्छुक रहेको बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्