भारतबाट आयात हुन थालेपछि नेपाली धानको मूल्य घट्यो, किसान मर्कामा
वीरगञ्ज । वीरगन्ज नाका हुँदै भारतबाट धान आयात हुन थालेपछि नेपाली धानको मूल्य घटेको छ । नेपाली धानको मूल्य घट्दा किसानलाई मर्का परेको छ ।
डेढ महिनाअघि नेपाली धानको भाउ प्रति क्विन्टल चार हजार तीन सय रुपैयाँ पुगेकोमा नयाँ धानको भाउ अहिले ह्वात्तै घट्दा किसानलाई घाटा लागेको हो । पर्सा, बारा लगायत मधेसका अन्य जिल्लामा विशेष गरी सोना मन्सुली धान लगाइने गरिन्छ ।
पर्सा र बारामा अहिले सोना मन्सुली धान प्रति क्विन्टल ३१ सयदेखि ३३ सय रुपैयाँसम्ममा बिक्री भइरहेको छ । एक सातामा धानको भाउ किलोमा १२ रुपैयाँसम्म सम्म घटेको छ । धान भण्डारण गर्न नसक्ने भएकाले स्थानीय गोला भण्डारका व्यापारीसँग धान बिक्री गर्न किसानहरू बाध्य छन् ।
वीरगन्ज महानगरपालिका–२१ पटेल नगरका हरिनारायण कुर्मीका अनुसार खेतबाट भित्र्याइएको धानबाली भण्डारण गरेर राख्दा पछि तौल घट्दै जान्छ, कीराले पनि खान्छ, त्यसैले सिजनमै सस्तोमा बिक्री गर्नुपर्ने बाध्यता रहेको छ ।
हाल पर्सा र बारामा साना/ठूला गरी करिब तीन सय राइस मिल तथा खाद्य उद्योग सञ्चालनमा छन् ।
बारा र पर्सामा उत्पादित सोना मन्सुली मोटो धान केही राइस मिलले किनेर चामल बनाई पहाडी जिल्लामा पठाउने गरेको खाद्यान्न व्यवसायी सुरेश रूँगटाले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्