गढीमाई मन्दिर, मेला हिन्दुहरूको ठुलो आस्थाको केन्द्र रहेको छ: मन्त्री चौरसिया
बारा । कानुन न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले हिन्दुहरूको ठुलो आस्थाको केन्द्रको रूपमा रहेको गढीमाई मेलामा नेपाल सरकारको पूर्ण साथ र समर्थन रहने बताउनु भएको छ ।
गढीमाईको दर्शन गरे पश्चात् मन्त्री चौरसियाले पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै नेपाल सरकार पर्यटन मन्त्रालयलाई आफू काठमाडौँ गएर गढीमाई मेलाको बारेमा जानकारी दिने र पर्यटन मन्त्री समेत मेला अवलोकन तथा निरीक्षण गर्न आउनेमा आफू विश्वस्त रहेको उहाँले बताउनुभयो ।
बलीका आधारमा विश्व प्रसिद्ध गढीमाई मन्दिरलाई अहिलेको सरकारले विश्व सम्पदाको सूचिमा समावेश गराउनको लागि पहल गर्ने समेत मन्त्री चौरसियाले बताउनुभयो ।
गढीमाईको दर्शन गर्न आउने सबैको मनोकामना पूरा हुने गरेकोले सबै हिन्दुहरू सँग उहाँले मेला अवलोकन तथा गढीमाईको दर्शन गर्न आउनको लागि आग्रह समेत गर्नुभएको थियो ।
गढीमाई मेलाको अवलोकन तथा निरीक्षण गर्दै मन्त्री चौरसियाले सनातन काल देखि प्रत्येक पाँच वर्षमा गढीमाईको मेला लाग्दै आएको र गढीमाईमा आए पछि सबैको मनोकामना पूरा हुने गरेको विश्वास व्यक्त गर्नुभएको थियो ।
विश्व प्रसिद्ध गढीमाई मेला सुरु भए सँगै अहिले केन्द्र र प्रदेशको मन्त्रीहरू सँगै विभिन्न राजनीतिक दलका मुख्य नेताहरू, प्रहरी प्रशासनका प्रमुखहरू, मन्त्रालयका विशिष्ट श्रेणीका कर्मचारीहरू मेलाको अवलोकन तथा निरीक्षण गर्ने क्रम जारी नै रहेको मेला मूल समितिका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्