तपाईँ सुन्दै हुनुहुन्छः

विश्वकप खेल्न पाकिस्तान जान लागेको नेत्रहीन टोलीको बिदाई

रुपन्देही । विश्व कप खेल्नका लागि पाकिस्तान जान लागेको नेपाली राष्ट्रिय नेत्रहीन क्रिकेट टोलीको बिदाई गरिएको छ । बुधबार रुपन्देही क्रिकेट सङ्घले भैरहवामा एक कार्यक्रमबीच टिमलाई बिदाइ गरेको हो । पाकिस्तानमा हुन लागेको नेत्रहीन टि–२० विश्वकपमा सहभागी हुन बुधबार नेपाली टिम रुपन्देहीको बेलहिया नाकाबाट भारत हुँदै पाकिस्तानतर्फ प्रस्थान गरेको छ ।

टिममा खेलाडी, अफिसियल, कोच, व्यवस्थापक र मेडिकल टिमसहित २१ जना सहभागी छन् । नोभेम्बर २३ देखि डिसेम्बर ३ सम्म पाकिस्तानको लावर र मुल्तानमा हुने विश्वकपमा नेपाली टिमले प्रतिस्पर्धा गर्नेछ । खेलाडीलाई बिदाइ गर्दै सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा अधिकारी, रुपन्देही क्रिकेट संघका अध्यक्ष हरि बहादुर थापा, संघका संस्थापक प्रेम कुमार सेन्चुरी, नेपाल क्रिकेट संघ (क्यान) का पूर्व कार्यवाहक सचिव प्रशान्त विक्रम मल्ल, संघका रुपन्देही सचिव संजय गुरुङ लगायतले उपाधि जितेर फर्किन शुभकामना दिनुभयो ।

खेल मुलुकको प्रतिनिधित्व मात्रै नभएर यसले राष्ट्रलाई चिनाउन समेत महत्वपूर्ण योगदान दिने जनाउँदै सफलताको शुभकामना दिनुभयो । उनीहरूले खेलमा जीत वा सिकाइमध्ये एक हुने बताउँदै उत्साहसहित प्रदर्शन गर्नका लागि आग्रह गर्नुभएको थियो । नेत्रहीन क्रिकेटमा नेपालले गरिरहेको प्रगति सबैका लागि प्रेरणा भएको समेत उहाँहरूको भनाइ थियो ।

पाकिस्तानमा हुन लागेको नेत्रहीन टि–२० विश्वकप चौथो संस्करणको हो । नेपाली नेत्रहीन राष्ट्रिय क्रिकेट टिमका कप्तान रमेश बहादुर बानियाँले सरकारी पक्षबाट राम्रो सहयोग नभए पनि केही समयको तयारीले विश्वकप खेल्न जान लागेको बताउनुभयो । पछिल्लो समय नेपाल क्रिकेट सङ्घले केही सहयोग गरे पनि अन्य सहयोग नपाएको उनको गुनासो छ । छोटो समयको तयारी भए पनि आफूहरूले उपाधि जित्ने विश्वास लिएर टिम एकढिक्का भएर देशका लागि खेल्ने कप्तान बानियाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button