नौबस्ता कारागार ३ जना कैदी फरार

बाँके । बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौबस्ता कारागारबाट ३ जना कैदी फरार भएका छन् । सोमबार बिहान करिब ९ बजेको समयमा कारागारबाट ३ जना कैदी फरार भएको बाँके प्रहरीले जानकारी दिएको छ ।
फरार भएका कैदीहरूको खोजीका लागि इलाका प्रहरी कार्यालय कोहलपुर, जिल्ला प्रहरी कार्यालय बाँके तथा मातहतका प्रहरी युनिटहरूबाट ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ । भागेका कैदीहरूको खोजीका लागि नेपाल प्रहरीका साथै सशस्त्र प्रहरीलाई समेत परिचालन गरिएको छ । कैदी भागेसँगै जिल्लास्थित सुरक्षा अधिकारीहरू नौबस्ता कारागारमा पुगेका छन् ।
फरार हुनेहरूमा बाँके खजुराका एक, दाङका एक र प्युठान घर भएका एक कैदी रहेको बताइएको छ । कैदीहरू कसरी फरार भए भन्ने बारेमा थप जानकारी आउन बाँकी रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्