एमाले जहाँ भएपनि जनताको सेवामा छ : नेता ज्ञवाली
गुल्मी । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उप–महासचिव प्रदीपकुमार ज्ञवालीले एमाले कुर्सी वा भुईँ जहाँ भएपनि जनताको सेवामा सदैव साथमा रहेको बताउनुभएको छ । बिहीबार नेकपा एमाले रेसुङ्गा नगर कमिटीको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै नेता ज्ञवालीले देशका दुई ठूला दल मिलेर सरकार बनाउँदा जनतामा खुसीयाली छाएको बताउनुभयो ।
उहाँले अब विकासले पनि गति लिने बताउनुभयो । माओवादीले अस्थिरता मात्रै बोकेर हिँड्दा राजनीतिक स्थायित्व नभएको बताउनुभयो । त्यसका लागि दुई ठूला दल मिल्नुको विकल्प नरहेको ज्ञवालीको तर्क छ । कहिले एमाले र कहिले काँग्रेससँग मिलेर दोहोरो चरित्र देखाएका कारण देशमा राजनीतिक स्थायित्व हुन नसके ज्ञवालीले बताए । देशमा राजनीतिक स्थायित्व कायम भएकाले बिकास पनि बिस्तारै हुँदै जाने उहाँले बताउनुभयो ।
त्यस्तै नेकपा एमालेका सचिव गोकर्ण बिष्टले नेकपा एमाले सधैँ विकासको पक्षमा रहेको बताउनुभयो । माओवादी पार्टी एक्का र हुकुम हातमा लिएर सधैँ अस्थिरता निम्त्याउने काम भएकाले नयाँ समीकरण बनेर सरकार गठन भएको बताउनुभयो ।
स्थिर जनपक्षीय शासनले मात्रै विकास गर्न सम्भव रहेकाले दुई ठूला दल मिलेर नयाँ सरकार गठन भएको बिष्टले बताउनुभयो । नयाँ पार्टीले पुराना पार्टीले केही गरेनन भनेर जनतामा भ्रम फैलाएर अवमूल्यन गरेको बताउनुभयो ।
गुल्मी क्षेत्र नम्बर २ का सांसद समेत रहेका बिष्टले बढ्दो बसाइँसराइ सोच्नुपर्ने बेला आएको बताउनुभएको छ । पहाड बाट तराई र दुर्गमबाट सुगम खोजेर बसाइँसराइ दर बढ्दै गएकाले यस बारेमा सोच्नुपर्ने बेला आएको बताए । गाउँ गाउँमा विकास निर्माणकार्य हुने क्रम बढ्दै गएपनि बसाइँसराइ दर बढ्नु चुनौतीपूर्ण अवस्थामा रहेको बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्