दसैँ-तिहारमा सडक दुर्घटनाबाट बाँकेमा ६ जनाको मृत्यु
नेपालगन्ज । बाँके जिल्लाभर दसैँ-तिहारको अवधिमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् ।
घटस्थापनाको दिन अर्थात् असोज १७ देखि कार्तिक १९ गतेसम्म जिल्लाभर भएका दुर्घटनामा ५ पुरुष र एक महिला गरी ६ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी बाँकेका प्रमुख इन्स्पेक्टर पुष्कर पन्तले जानकारी दिनुभयो ।
ट्राफिक प्रमुख पन्तका अनुसार १० वटा दुर्घटनामा ५ पुरुष र ३ महिला गरी ८ जना गम्भीर घाइते हुँदा अन्य ८ जना सामान्य घाइते भएका छन् । जसमा तीन जना पुरुष, २ महिला, २ जना बालक र १ जना बालिका रहेका छन् ।
त्यस्तै उक्त अवधिमा बाँके ट्राफिकले नियम उल्लङ्घन गर्ने २७ सय ७ सवारीसाधनलाई कारबाही गर्दै २४ लाख २४ हजार रुपैयाँ राजश्व सङ्कलन गरेको ट्राफिक प्रमुख पन्तले बताउनुभयो । जस अन्तर्गत ट्राफिक प्रहरीले २२४ सवारी चालकलाई मापसे कारबाही गर्दै १ लाख १२ हजार ५ सय रुपैयाँ राजश्व सङ्कलन गरेको हो ।
ट्राफिक प्रहरीले जिल्लाभर २२८ पटक सञ्चालन गरेको सचेतना कक्षामा १० हजार ३८० जना सहभागी भएका छन् ।
प्रतिक्रिया राख्नुहोस्