बाँकेमा ५ जना सडक मानवहरूको उद्धार
बाँके । मेची–महाकाली राष्ट्रिय उद्धार यात्राको १६ औँ दिन मङ्गलवार बाँके जिल्लामा ५ जनाको उद्धार भएको छ । ‘यो पटकको चाडपर्वमा कसैले बस्न नपरोस् सडकपेटीमा’ भन्ने भावनासहित मानव सेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा राष्ट्रिय उद्धार यात्रा सुरुको भएको हो ।

राष्ट्रिय उद्धार यात्राका क्रममा मङ्गलवार बाँके जिल्लाका विभिन्न स्थानीय पालिकाहरूबाट ५ जनाको उद्धार भएको हो । जसमध्ये नेपालगञ्ज उपमहानगरपालिका–१८ बाट २ जना, कोहलपुर नगरपालिका–११ बाट १ जना, जानकी गाउँपालिका–६ बाट १ जना र बैजनाथ गाउँपालिका–१ बाट १ जना सडक मानवहरूको उद्धार गरिएको हो ।

असोज २८ गतेबाट झापाको मेचीनगरदेखि सुरु भएको यात्रा मङ्गलवार बाँके आइपुग्दासम्म १३९ जना सडक आश्रित मानवहरूको उद्धार गरिएको मानव सेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले जानकारी दिनुभयो ।
मेची–महाकाली राष्ट्रिय उद्धार यात्राअन्तर्गत उद्धार गरिएका १०६ जना पुरुष र ३३ जना महिला हुनुहुन्छ ।
मङ्गलवार विभिन्न स्थानबाट उद्धार हुनुभएका ५ जनालाई मानव सेवा आश्रम सुर्खेतको वीरेन्द्रनगर सेवा केन्द्रमा प्रवेश गराइएको छ ।







प्रतिक्रिया राख्नुहोस्