लेबनान र इजरायलका नेपालीको अवस्थाबारे ‘अपडेट’ भई आवश्यक सहयोग गर्न निर्देशन

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले इजरायल र लेबनानमा रहेका नेपालीहरूको अवस्थाका बारेमा जानकारी लिएर ‘अपडेट’ भइरहन त्यहाँस्थित नेपाली दूतावासहरूलाई निर्देशन दिनुभएको छ ।
ती देशमा अवस्थित नेपाली राजदूतहरूसँग आज मन्त्रालयबाट भर्चुअल बैठक गरी उहाँले इजरायल र लेबनानमा विकसित पछिल्लो परिस्थितिका बारेमा जानकारी लिनुभएको थियो ।
सो बैठकमा मन्त्री डा राणाले पछिल्लो समयमा विशेषगरी लेबनानमा विकसित परिस्थितिका कारण त्यहाँ रहेका नेपालीको अवस्थाबारे नेपालमा चिन्ता बढिरहेकाले उहाँहरू र उहाँका परिवारको सम्पर्कमा रहेर आवश्यक सहयोग गर्न निर्देशन दिनुभएको थियो ।
सो बैठकमा मन्त्री डा राणाले भन्नुभयो “कुनै पनि प्रकारले त्यहाँ रहेका सबै नेपालीहरूको सम्पर्कमा पुग्ने प्रयास गर्नु, कोही तत्कालै स्वदेश फर्कनका लागि सहयोग चाहनुहुन्छ भने त्यसका लागि समन्वय गर्नु र यदि त्यहाँबाट नेपाली नागरिकको उद्धार गरेर स्वदेश ल्याउनुपर्ने अवस्था आउन सक्छ भने त्यसका लागि पनि आवश्यक गृहकार्य गर्नु ।”
मन्त्री डा राणाले सम्बन्धित देशका दूतावासहरूलाई सूचना जारी गरी सम्पर्क व्यक्ति तोक्न र आवश्यकताअनुसारका हेल्पडेस्क स्थापना गरेर समस्यामा परेका नेपालीहरूलाई आवश्यक सहायता र समन्वय प्रदान गर्न निर्देशन दिनुभएको थियो ।
इजिप्टका लागि नेपाली राजदूत सुशील लम्सालले लेबनानको पछिल्लो अवस्थाको जानकारी गराउँदै त्यहाँ रहेका नेपालीहरूलाई अहिले नै त्यस्तो कुनै समस्या नरहेको बताउनुभयो ।
त्यहाँ हाल करिब एक हजार २०० नेपाली रहेका अनुमान गरिएको र उहाँहरूमध्ये अधिकांश घरायसी काममा रहेका जानकारी दिँदै दूतावासले जारी गरेको सूचनाका आधारमा तीन जना मात्र सम्पर्कमा आउनुभएको र उहाँहरू पनि बेरुतमा सुरक्षित रहेको जानकारी दिएको उहाँले बताउनुभयो । हाल कुनै पनि नेपालीले आफूलाई समस्या परेको भनी रिपोर्टिङ नगर्नुभएको तर नेपालमा रहेका आफन्तहरू बढी चिन्तित हुनुभएको पनि उहाँले जानकारी दिनुभयो ।
त्यसैगरी इजरायलका लागि नेपाली कार्यवाहक राजदूत कुमार श्रेष्ठले इजरायलको अवस्था सामान्य रहेको र त्यहाँ रहेका करिब चार हजार ५०० नेपाली सुरक्षित रहनुभएको बताउनुभयो ।
त्यस्तै पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले इरानको पछिल्लो अवस्थाका बारेमा जानकारी दिनुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्