पहिरोमा पुरिएकी महिलाको जीवितै उद्धार
धनकुटा । धनकुटामा पहिरोले घरमा पुरिएकी एक महिलाको जीवितै उद्धार गरिएको छ । धनकुटाको छथरजोरपाटी गाउँपालिका-२ सल्लेकी २० वर्षीया सिर्जना मगरको स्थानीय र प्रहरीले जीवितै उद्धार गरेका हुन् । घरमा बसिरहेको उहाँलाई घर भन्दा निकै माथिबाट आएको पहिराले घरसहित पुरेको छथरजोरपाटी -२ का वडाध्यक्ष कृष्ण मगरले जानकारी दिनुभयो । जीवितै उद्धार गरि उपचारका लागि जिल्ला अस्पताल धनकुटा पठाइएकोमा धनकुटामा उपचार हुन नसकेपछि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । घरमा उहाँ मात्रै रहनुभएको र उहाँका बाबुआमा घाँस काट्न गएको बेला पहिरो आएको वडाध्यक्ष मगरले जानकारी दिनुभयो। पहिरोका कारण गोठमा १० वटा बाख्रा, गाई र बङ्गुर पहिरोले पुरेको वडाध्यक्ष मगरले जानकारी दिनुभयो।
यता निरन्तरको वर्षाले जोरपाटी बजारमा ४ घर, सल्लेमा ३ घर जोखिममा परेको वडाध्यक्ष मगरले जानकारी दिनुभयो। निरन्तरको वर्षाले छथर जोरपाटीमा लगाएको अधिकांश तरकारी बाली क्षति भएको छ। वर्षाकै कारण धनकुटाको सिधुवा जितपुर सडक पूर्णरुपमा बन्द भएको छ।
प्रतिक्रिया राख्नुहोस्