राजनीतिक स्थायित्वका लागि संविधान संशोधन आवश्यक : मन्त्री दाहाल

विराटनगर । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले राजनीतिक स्थायित्वका लागि संविधान संशोधन आवश्यक रहेको बताउनुभएको छ ।
विराटनगरमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले निर्वाचन प्रणालीको कारण कुनै पनि दलका बहुमतको सरकार नहुँदा राजनीतिक स्थायित्व कायम हुन नसकेकाले संविधान संशोधन गरेर निर्वाचन प्रणालीमा सुधार गर्दै जानुपर्ने बताउनुभयो ।
मन्त्री दाहालले, मुलुकको विकास निर्माण द्रुत गतिले अगाडि बढाउन निर्वाचन प्रणालीमा रहेका वाधा अड्चन हटाउन संविधान संशोधन गर्न लागिएको प्रष्ट पार्नु भयो ।
उहाँले निर्वाचन प्रणाली सुधार गर्ने सन्दर्भमा विभिन्न महिलाहरू, विभिन्न जातजातिको प्रतिनिधित्व स्थानीय रुपमा निर्वाचित गरेर ल्याउने तथा, समानुपातिक व्यवस्थालाई व्यवस्थित गर्ने सम्बन्धमा विभिन्न दलहरुबीच छलफल भइरहेको जानकारी दिनुभयो । दलहरूको सहमतिमा संविधान संशोधन हुने उहाँको भनाई थियो ।
मन्त्री दाहालले संविधान संशोधनबाट समानुपातिक, समावेशिता झन बलियो हुने भएकाले संविधान संशोधनले जननताका अधिकार खोसिने नभई उनीहरूको अधिकार थप स्थापित हुने प्रष्ट पार्नुभयो ।
फरक प्रसङ्गमा मन्त्री दाहालले नेपाललाई खाल्डाखुल्डी रहित बनाउने अभियानमा वर्तमान सरकार लागेको जानकारी दिनुहुँदै देशव्यापी रुपमा सङ्घीय मन्त्रालय अन्तर्गतका चार हजार पाँच सय किलोमिटर बाटाहरूमा रहेका खाल्डाखुल्डी पुर्ने काम शुरु भएको र अहिले वर्षाका कारण अवरुद्ध भएपनि दशैँ अगावै सो काम सम्पन्न हुने बताउनुभयो ।
मन्त्री दाहाल आजे विराटनगरस्थित रेल्वे, हुलाकी सडक तथा पुलहरूको अवलोकन गर्दै कामलाई गति दिन निर्देशन दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्