तपाईँ सुन्दै हुनुहुन्छः

‘समृद्ध नेपाल निर्माणका लागि राजनीतिक दलहरू एकजुट हुनुपर्छ’

वीरगञ्ज । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले बिकास निमार्णको कार्यमा सबै राजनीतिक दलहरू एकजुट भएर अगाडि बढे मात्र समृद्ध नेपाल निर्माण हुनेमा जोड दिनुभएको छ ।

पर्साको पर्सागढी नगरपालिकाद्वारा आज आयोजित कार्यक्रममा मन्त्री गुप्ताले केन्द्रमा नेकपा एमालेको नेतृत्वको कांग्रेस एमालेको सरकार जस्तै प्रदेशमा पनि सशक्त सरकार हुनुपर्ने बताउनुभयो ।

उहाँले अहिलेको मुख्य एजेण्डा भनेको शिक्षा, स्वास्थ्य, र सडकमा सबै राजनीतिक दलको सहमति र सहकार्य भए मात्र मुलुकले समृद्धि हासिल गर्ने र स्थानीय जनताको जीवनस्तर उकास्न सहज हुने बताउनुभयो ।

मन्त्री गुप्ताले पर्सागढी नगरपालिकाको स्थानीय सरकारलाई सकारात्मक एजेण्डा सहित मन्त्रालयसँग सहकार्य गर्न आग्रह गर्दै पर्सागढी सहित पर्सावासीबाट पाएको मायाले निकै खुशी लागेको बताउनुभयो ।

सो अवसरमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई पर्सागढी नगरपालिकाका नगर प्रमुख गोकर्ण पाठक, उपप्रमुख पूजा चौधरी लगायतले नागरिक स्तरबाट दोसल्ला, फुलमाला लगाई सम्मान गर्नुभएको थियो ।

कार्यक्रममा नेकपा एमालेका नेता, कार्यकर्ता, विभिन्न राजनीतिक दलका प्रतिनिधि, सरकारी कार्यालयका प्रमुखहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button