तपाईँ सुन्दै हुनुहुन्छः

कर्णाली पारीका स्याउ स्थानीय बजारमा

बाजुरा । सडक सञ्जालसँग जोडिन नसकेको बाजुराको कर्णाली पारीको स्वामीकार्तिक खापर गाउँपालिकाको स्याउ बजारीकरणका लागि कैलाली,नेपालगन्ज,सुर्खेत लगायतका बजारमा पुगेको छ । 

सडक अवरुद्धका कारण बारीमै थन्किन पुगेको गाउँपालिकाको अर्ग्यानिक स्याउ कर्णाली करिडोरको बाटो सञ्चालनमा आएसँगै बिक्री वितरणका लागि  जिल्ला बाहिरका बजारमा पुग्न थालेको हो । स्वामिकार्तिक गाउँपालिका स्थित जेबाले, सैदेओ, खुन्का र जोरु लगायतका ठाउँको स्याउ बिक्रीका लागि जिल्ला बाहिर ढुवानी शुरु भएको स्वामिकार्तिक खापर गाउँपालिकाका अध्यक्ष भरत बहादुर रोकायाले बताउनुभयो । 

 सडक पुग्न बाँकी रहेको र पुगे पनि वर्षातकका कारण अवरुद्ध भएका ठाउँमा अन्य विकल्पबाट भए पनि स्याउ ढुवानी गरिने अध्यक्ष रोकायाले बताउनुभयो । पालिकाको तथ्याकं अनुसार हाल सम्म गाउँपालिकाबाट १४ ट्रक स्याउ ढुवानी भइसकेको छ । 

गाउँपालिकाका विभिन्न ठाउँमा उत्पादन गरिएको स्याउ ट्याक्टर मार्फत पिलुचौर सम्म ढुवानी भएको र पीलुचौर देखि ट्रक मार्फत सुर्खेत, नेपालगञ्ज, धनगढी लगायतका सहरमा निर्यात भइरहेको छ।

गत वर्ष अछाम, डोटी, डडेलधुरा, कैलाली हुँदै काठमाण्डौसम्म पुर्‍याइएको स्याउ यस वर्ष मार्तडी–कोल्टी सडक लामो समय देखि अवरुद्ध हुँदा कर्णाली कोरिडोरबाट कालिकोट, सुर्खेत हुँदै नेपालगञ्ज र कैलालीको धनगढी र लम्कीसम्म पुगेको स्याउ कृषक तथा स्याउ विक्रेता धनबहादुर रावलले बताउनुभयो । कोल्टी मार्तडी सडक खण्ड सुचारु नभएपछि विकल्पको रुपमा कर्णाली करिडोरको बाटो खोज्नु परेको उहाँको भनाइ छ।

कर्णाली करिडोर नजिकै पर्ने हुँदा स्वामिकार्तिकको स्याउ ढुवानी शुरु भएपनि कर्णाली वारि बुढिनन्दा नगरपालिका स्थित पाण्डुसैनको स्याउ भने ढुवानी हुन सकिरहेको छैन। मार्तडी कोल्टी सडक खण्ड बर्षात शुरु भए सँगै ३ महिना देखि अवरुद्ध हुँदा त्यहाँको स्याउ बारीमै कुहिन थालेको कृषकहरूले गुनासो गर्न थालेका छन्।

बाजुरामा कुल ३ सय ७० हेक्टर क्षेत्रफलमा स्याउ खेती गर्ने गरिएको छ। जसमध्ये हाल उत्पादनशील क्षेत्र १ सय ७५ हेक्टर रहेको छ भने जम्मा उत्पादन १ हजार १ सय ३७ मेक्ट्रीक्टन हुने गरेको छ। 

प्रतिक्रिया राख्नुहोस्

Back to top button