सङ्क्रामक तथा सरुवा रोग अस्पतालले सेवालाई व्यापक रुपमा विस्तार गर्ने
पोखरा । गण्डकी प्रदेश सरकार मातहत पोखरा महानगरपालिका वडा नं ३० मा रहेको सङ्क्रामक तथा सरुवा रोग अस्पतालले आफ्नो सेवालाई व्यापक रुपमा विस्तार गरेको छ ।
लेखनाथको मोहोरियामा स्थानीयहरूले आफ्नो ठाउँमा अस्पताल निर्माण गरेर सर्वसुलभ तरिकाले उपचार सेवा पाउन सकिन्छ भन्ने उद्देश्यका साथ वि स २०६० सालमा मुठी दान देखि सर्वोश्व दान गरेर निर्माण गरिएको सामुदायिक लायन्स अस्पताल वि स २०७७ साउन ६ गते देखि प्रदेश सरकारको मातहतमा पुगेपछि समयानुकूल परिष्कृत गरि थप नयाँ सेवाबाट जनतालाई सेवा दिन थालेको हो ।
यसैबिच अस्पतालले यस क्षेत्रमा रहेका विभिन्न सामाजिक संघ संस्था, राजनीतिक पाटीका प्रतिनिधि र सरोकारवालका बिच छलफल तथा बिचार विमर्श कार्यक्रम मार्फत अस्पतालले प्रदान गर्ने सेवा सुविधा र चालु आर्थिक वर्षमा गरिने भावी योजनाका बारेमा सुझाव सङ्कलन गरेको छ ।
गण्डकी प्रदेश सरकार मातहतमा अस्पताल सञ्चालन हुन थाले पछि यहाँबाट दैनिक रुपमा ७०/८० जना बिरामीहरूले विभिन्न किसिमका सेवाहरू लिँदै आएको अस्पतालका प्रमुख कार्यकारी निर्देशक डा. विकास गौचनले जानकारी दिनुभयो । उहाँका अनुसार बिरामीहरूलाई उपचारका सही विधि र बिरामीको मन जित्न सक्ने गरि चौबिसै घण्टा करिब ८०/८५ जना स्वास्थ्यकर्मीहरुले सेवा प्रदान गर्दै आएको गौचनले बताउनु भयो ।
हस्पिटलले गुणस्तर र प्रविधिको प्रयोग गरि जनरल, बहिरङ सेवा, अन्तर सेवा, आकस्मिक सेवा, प्रयोगशाला, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, प्राथामिक आँखा उपचार सेवा, कोभिड खोप सेवा, हेमो डायालोसिस, स्वास्थ्य बिमा कार्यक्रम लगायत १० वर्ष मुनिका वाल वालिका,गरिब तथा ६० वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई निःशुल्क सेवा प्रदान गर्दै आएको छ ।
कार्यक्रममा अस्पताल सञ्चालन समितिका अध्यक्ष ऋषिराम जमरकट्टेलले स्वास्थ्य मन्त्रालयको सहकार्यमा निकट भविष्यमा निर्माणाधीन नयाँ भवनमा १०० शय्याको सुविधा सम्पन्न अस्पताल तयार गरि अल्पकालिन, मध्यकालिन र दीर्घकालीन योजना बनाएर स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने योजना रहेको बताउनु भयो । साथै वहाँले जनस्तरबाट आएका सुझावलाई लिपिबद्ध गरि प्रतिवेदनका रुपमा गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयमा पठाउने जानकारी दिनु भयो ।
अस्पताल विकास समितिका सदस्य मेजर रामप्रसाद गुरुङले धन्यवाद सहित उठेका जिज्ञासा र सुझावका बारेमा प्रकाश पार्दै प्रशासन प्रमुख लक्ष्मी प्रसाद पौडेलले अस्पतालले प्रदान गर्दै आएका सेवा र सुविधाको प्रचार प्रसार नहुँदा पनि बिरामीहरूले बाहिर बाहिर महँगोमा उपचार गर्न बाध्य भएकाले जनस्तरबाट अस्पतालले प्रदान गर्ने सेवाका बारेमा सबै जनाले बुझ्नु आवश्यक रहेको बताउनु भयो ।
प्रतिक्रिया राख्नुहोस्