तपाईँ सुन्दै हुनुहुन्छः

विकासका मुद्दाहरूलाई प्राथमिकतामा राखेर अगाडि बढौँ : मन्त्री यादव 

वीरगञ्ज । खानेपानी मन्त्री एवं जनता समाजवादी पार्टी (जसपा)का उपमहासचिव प्रदीप यादवले विकासका मुद्दाहरूलाई प्राथमिकतामा राखेर अगाडि बढ्न पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्ताहरूलाई आह्वान गर्नुभएको छ ।
जनता समाजवादी पार्टीको सङ्गठन सुदृढ बनाउने अभियान अन्तरगत आज वीरगन्जमा आयोजित जसपा पर्साको विस्तारित बैठकलाई सम्बोधन गर्दै खानेपानी मन्त्री समेत रहनुभएका यादवले सङ्गठनलाई सुदृढ बनाउन, जनताको समस्यालाई समाधान गर्न पार्टीका कार्यकर्तालाई जनताको घरदैलोमा पुग्न आग्रह गर्नुभयो ।
उहाँले जसपा नेपालमा दलालहरूको विगविग बढेको र नेताको चाकडी गर्ने समूहका कारण पार्टी नै सखाप हुने स्थितिमा पुगेपछि आफूहरू नयाँ पार्टी निर्माणमा जुटेको बताउनुभयो ।
कार्यक्रममा वीरगन्ज महानगरपालिकाका नगर प्रमुख एवं जसपाका केन्द्रिय सदस्य राजेशमान सिंहले दुःखमा साथ दिने कार्यकर्ताहरूलाई पार्टीले संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।
नगर प्रमुख सिंहले वीरगन्जलाई शिक्षा र स्वास्थ्यमा मजबुद बनाउँदै वैभव वीरगन्ज बनाउने अभियानमा आफू जुटेको उल्लेख गर्दै आउने बाधा र चुनौती सामना गर्न तयार रहेको बताउनुभयो ।
जसपा पर्साका जिल्ला अध्यक्ष सिंहासन साह तेलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रिय सदस्य मोहन लाल चौधरी, जन्नत अन्सारी, प्रेम बाबु पटेल लगायतका नेताहरूले सम्बोधन गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button