तपाईँ सुन्दै हुनुहुन्छः

‘नरैनापुरमा झाडापखालाको प्रकोप फैलिएको छैन’

नेपालगञ्ज । बाँकेको नरैनापुरमा झाडापखालाको प्रकोप नफैलिएको स्वास्थ्यकर्मीले बताएका छन् । नरैनापुर गाउँपालिका–३ गेग्ली गाउँमा झाडापखालाको प्रकोपबाट ४ जनाको मृत्यु भएको घटना सार्वजनिक भएपछि जिल्लाबाट स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अङ्गद बहादुर शाही, जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठ सहितको स्वास्थ्यकर्मीको टोली आज गेग्ली गाउँमा पुगेको थियो ।
झाडापखालाको प्रकोप नै फैलिएको अवस्था नरहेको टोलीले निष्कर्ष निकालेको छ । मृत्यु पनि झाडापखालाबाटै हो वा होइन त्यसको अनुसन्धान पनि भइरहेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । एक जना बालकको भने उच्च ज्वरो र जोर्नी दुख्ने लगायतका कारणबाट मृत्यु भएको पाइएको छ । उनलाई डेंगुको आशङ्का गरिएको छ ।
चार(पाँच दिनको फरकमा नरैनापुर गाउँपालिका–३ मा एउटै घरका ३ जना र अन्य एक जनासहित ४ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा २६ वर्षीय उषा पासी, १२ महिनाकी नन्दनी पासी र ६५ वर्षीया कान्ति पासी रहेका छन् । यस्तै १० वर्षीय युसुफ अलि शेषको पनि मृत्यु भएको थियो ।
‘मृत्यु भएकाहरूको झाडापखालाको प्रकोपकै कारण हो भन्न सक्ने अवस्था छैन,” श्रेष्ठले भन्नुभयो-“फोहोर पानीको संक्रमण र खानपिन नमिल्दा समस्या देखिएको प्रारम्भिक अनुमान गरेका छौँ । तर, त्यसको अनुसन्धान भइरहेको छ ।” झाडापखालाको पुष्टि गर्न स्याम्पल कलेक्सन गरेर लक्षणपुर स्वास्थ्य चौकीमा पठाइएको छ । त्यसैगरी पानीको परीक्षण गर्न पनि खानेपानी कार्यालय नेपालगञ्जमा नमुना सङ्कलन गरी पठाइएको छ । “सम्भवतः भोलि (मङ्गलवार) रिपोर्ट आउनेछ,”उहाँले भन्नुभयो,-“नल्काको पानी अत्यन्तै प्रदूषित पाइएको र उनीहरूले त्यही पानी पिउने गरेका छन् ।”

प्रतिक्रिया राख्नुहोस्

Back to top button