तपाईँ सुन्दै हुनुहुन्छः

विकासशील मुलुकमा स्तरोन्नति गर्दा आइपर्ने चुनौतीको सामना गर्नेगरी तयारी 

काठमाडौँ । सरकारले नेपाल अति कम विकसित मुलुकबाट विकासशील मुलुकका रुपम स्तरोन्नति भएपछि आइपर्ने आर्थिकलगायतका चुनौतीलाई व्यवस्थापन गर्न सूक्ष्म ढङ्गबाट तयारी गरिरहेको जनाएको छ । 

राष्ट्रियसभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको आज बसेको बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नेपाललाई अति विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति गर्दा आइपर्ने चुनौतीको सामना गर्नेगरी सरकारले आवश्यक तयारी गरिरहेको जानकारी दिनुभयो । 

उद्योगमन्त्री भण्डारीले सरकारले नीति तथा कार्यक्रम र बजेटमै उत्पादन उत्पादकत्व वृद्धि गर्ने विषयलाई प्राथमिकता दिएको उल्लेख गर्दै नेपालमा लगानीमैत्री वातावरण बनाउन सरकारले नीतिगत प्रयास गरिरहेको स्पष्ट पार्नुभयो । 

मन्त्री भण्डारीले ठूला लगानीका लागि थुप्रै ऐन कानुनहरू बाधक भएकाले सरकारले अन्तरमन्त्रालयगत छलफल गरी कानून संशोधन प्रक्रिया अघि बढाएको बैठकलाई जानकारी गराउनुभयो । 

बैठकमा सांसदहरु बामदेव गौतम, उर्मिला अर्याल, अन्जान शाक्य, जितजंग बस्नेतलगायतले अति विकसित राष्ट्रबाट विकासशील राष्ट्रका रुपमा स्तरोन्नतिपछि नेपालमा आउने सहयोगहरू घट्ने हुँदा सरकारले उद्योग कलकारखाना स्थापना गर्नुपर्ने, कृषिमा लगानी बढाउनुपर्ने र सुशासन कायम गर्न सरकारले पूर्ण तयारी गर्नुपर्नेमा जोड दिनुभयो । 

बैठकमा मन्त्रालयका सहसचिव देवराज जोशीले प्रतिव्यक्ति आयलगायतका सूचकका आधारमा नेपाल विकासशील राष्ट्रको सूचीमा बढवा हुन योग्य भइसकेको बताउनुभयो । 

बैठकमा समितिका सभापति कमला पन्तले स्तरोन्नति पछि आइपर्ने आर्थिक चुनौतीको सामना र आवश्यक पूर्व तयारीका सन्दर्भमा प्रधानमन्त्रीसँग समेत छलफल गरिने बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button