राष्ट्रिय परिचय पत्र लिनेको सङ्ख्या न्यून ११ हजार बढी परिचय पत्र प्रशासनमै थन्किए

बाजुरा । नेपाली नागरिकताको विकल्पका रूपमा सरकारले अघि सारेको राष्ट्रिय परिचयपत्र लिनेको सङ्ख्या बाजुरामा न्यून रहेको पाइएको छ।
बाजुरामा विभिन्न समयमा राष्ट्रिय परिचय पत्रका लागि आवेदन दिएका नागरिकहरूको १४ हजार ५ सय परिचय पत्र छपाई भएर आएका भए पनि ती सबै जिल्ला प्रशासनमा थन्किएका छन् ।
प्रशासनमा पुगेका परिचय पत्र वितरण भइरहेको भएपनि परिचयपत्र लिन स्वयम व्यक्ति उपस्थिति हुनुपर्ने भएकाले परिचय पत्र लिनेको सङ्ख्या न्युन रहेको जिल्ला प्रशासन कार्यालय बाजुरा स्थित राष्ट्रिय परिचय पत्र शाखाका कर्मचारी जय बहादुर ऐडीले बताउनुभयो ।
२०८० मसिंर २० गतेबाट बाजुरामा परिचय पत्र वितरण कार्य सुरु गरिएको भए पनि हाल सम्म ३ हजार मात्रै वितरण भएको ऐडीले जानकारी दिनुभयो । २०७७ साल असोज ११ गते देखि राष्ट्रिय परिचय पत्रका लागि आवेदन कार्य सुरु भएकोमा हालसम्म निरन्तर चलिरहेको छ।
जिल्लाका नौ ओटै स्थानीय तहमा राष्ट्रिय परिचय पत्रको फारमका लागि सञ्चालन भएका शिविर, अभियान तथा प्रशासनबाटै हालसम्म ४३ हजार २ सय ७५ जनाले परिचय पत्रका लागि आवेदन दिएका छन्।
पहिलो चरणमा १४ हजार ५ सय परिचय पत्र प्रशासन कार्यालय बाजुरामा आइसकेको सहायक प्रमुख जिल्ला अधिकारी रुपक मण्डलले बताउनुभयो । मतदाता सङ्ख्याको आधारमा जिल्लामा ७४ प्रतिशत नागरिकहरूको राष्ट्रिय परिचय पत्र विवरण सङ्कलन भइसकेको छ ।
राष्ट्रिय परिचय पत्र वितरण कार्यको सुरुवात भएको एक बर्ष पुग्न लाग्दा पनि न्युन सङ्ख्यामा वितरण हुनुमा आँखा, कान र हस्ताक्षर सहित बायोमेट्रिक लिएर सम्बन्धित व्यक्तिले परिचय पत्र पाउने व्यवस्था भएकाले सम्बन्धित व्यक्ती उपस्थित हुन नसक्नु लगायतका कारणहरू रहेको प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्