तपाईँ सुन्दै हुनुहुन्छः

जुम्लामा कर्णालीकै लामो जात्रा सुरु

जुम्ला । जुम्लामा मङ्गलवारदेखि जात्रा सुरु भएको छ । कर्णाली प्रदेशकै लामो र ठुलो जात्राका रुपमा रहेको कृष्ण जन्माष्टमी जात्रा जुम्लामा सुरु भएको हो ।

जुम्लामा यो जात्रा वि.सं १९५३ सालबाट निरन्तर मनाउँदै आएको इतिहास छ । भदौ कृष्ण प्रतिपदाका दिनदेखि सुरु भएको जात्रा श्रीकृष्ण जन्माष्टमीको भोली पल्ट लाखे काटेपछि मात्रै सकिन्छ ।

जात्राको पहिलो दिन मङ्गलवार गाईजात्रा देखाइएको छ । दिवङ्गत भएका आफन्तहरूको सम्झनामा गाईजात्रा निकालिन्छ । एक हप्ता लामो जात्रामा हजारौँ जात्रुको भिड लाग्छ ।

गाईजात्रादेखि कृष्णा जन्माष्टमीसम्म करिब एक साता निरन्तर जात्रा लाग्ने जात्रा व्यवस्थापन समितिका महासचिव आनन्द अधिकारीले बताउनुभयो । उहाँका अनुसार पहिलो दिन गाईजात्रा चन्दननाथ नगरपालिकाका मेयर राजुसिंह कठायतको घरबाट निकालिएको हो ।

मङ्गलवारदेखि सुरु भएको जात्रा आगामी भदौ ११ गते समापन हुने छ । एक वर्षभित्र मृत्यु भएका आफ्ना परिवारका सदस्यहरूको सम्झना र प्रतीकको रुपमा मानिसलाई गाईको रुपमा सिँगारेर वा गाईलाई नै खलङ्गा बजार परिक्रममा गरिएको छ ।

लिच्छवि कालमा मल्ल राजा प्रताप मल्लले पुत्र शोकले विह्वल भएकी रानीलाई सान्त्वना दिन सबैले यस्तो शोक बेहोर्नुपर्छ भन्ने देखाउन मानिस मृत्यु भएको घरबाट गाईजात्रा निकाल्ने व्यवस्था मिलाई रानीलाई देखाएका थिए । त्यसपछि रानीको मन शान्त हुन नसकेपछि हँसाउने कार्यक्रम गरेको किंवदन्ती छ ।

जात्राको समयमा भिडभाड हुने भएकोले आपराधिक क्रियाकलाप नियन्त्रणका लागि प्रहरी सुरक्षा व्यवस्थालाई मजबुद बनाइएको डिएसपी छेदिलाल कामतीले बताउनुभयो ।

एक हप्ता चल्ने जात्रामा गाईजात्रा पछि रोपाइँ जात्रा, सानो पल्टन जात्रा, मिम बादशाह जात्रा र ठुलो पल्टन तथा बाघ भालु जात्रा लगायतका स्थानीय भाषा संस्कृति झल्किने झाँक्री समेत प्रदेश गरिने छ ।

जत्रा हेर्न कर्णालीका पाँच जिल्लासहित जाजरकोट, दैलेख, कालिकोट, मुगु सुर्खेत लगायतका जिल्लाबाट आउने गर्छन् । जात्रा अवधिभर जुम्लाको अर्थतन्त्र पनि चलायमान हुने व्यापारीहरू बताउँछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button