भेरी अस्पतालमा शल्यक्रिया गराउनेको चाप, एक बर्षमा साढे तीन हजार शल्यक्रिया

नेपालगञ्ज। नेपालगन्जस्थित भेरी अस्पतालमा एक वर्षमा साढे तीन हजार बढी शल्यक्रिया गरिएको छ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशको प्रेषण अस्पतालको रुपमा रहेको भेरीमा गत आर्थिक वर्ष २०८०/०८१ मा तीन हजार सात सय ८८ जनाको शल्यक्रिया गरिएको अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा। प्रकाश बहादुर थापाले जानकारी दिनुभयो । आर्थिक वर्ष २०७९/०८० मा भेरी अस्पतालमा तीन हजार दुई सय ३२ वटा शल्यक्रिया भएका थिए ।
यो अघिल्लो आर्थिक वर्षको तुलनामा पाँच सय २५ वटाले बढी हो । आर्थिक वर्ष २०८०/०८१ मा तीन हजार सात सय ८८ जनाको शल्यक्रिया गरिएका मध्ये दुई हजार आठ सय ६० वटा जटिल शल्यक्रिया भएका छन् । त्यसैगरी तीन सय ४५ वटा मध्यम खालका र पाँच सय ८३ वटा सामान्य खालका शल्यक्रिया भएको पनि डा. थापाले बताउनुभयो । सबैभन्दा धेरै प्रसूति तथा स्त्रीरोग विभागमा एक हजार सात सय ५६ वटा शल्यक्रिया भएको छ ।
त्यसमा एक हजार छ सय ७६ वटा जटिल खालका शल्यक्रिया भएका छन् । त्यसैगरी मध्यम खालका २३ र सामान्य खालका ५७ वटा शल्यक्रिया भएका छन् । त्यसैगरी नौ सय ८३ वटा जनरल सर्जरी विभाग अन्तर्गत शल्यक्रिया भएको छ । ती मध्ये चार सय ४८ वटा जटिल, एक सय ४५ मध्यम र तीन सय ९० वटा सामान्य खालका शल्यक्रिया गरिएको छ ।
हाडजोर्नी विभागतर्फ पाँच सय ६५ वटा शल्यक्रिया भएको अर्थोपेडिक सर्जन समेत रहेका निमित्त मेसु डा। थापाले बताउनुभयो । उहाँका अनुसार चार सय २२ वटा जटिल, ९७ वटा मध्यम र ४६ वटा सामान्य खालका शल्यक्रिया भएका छन् । उहाँले ५५ वटा अर्थोस्कोपी गरिएको पनि बताउनुभयो । नाक, कान र घाँटी विभाग अन्तर्गत जटिल एक सय २५, मध्यम १६ र सामान्य ९० गरी दुई सय ३१ वटा शल्यक्रिया भएका छन् । यस्तै हाइड्रोशीलका ६४, ग्यास्ट्रिक सर्जरीका ५४, स्पाइनल केस (न्यूरो) चार, स्पाइनल केस (अर्थो) ४० वटा शल्यक्रिया भएको छ ।
अस्पतालमा शल्यक्रिया सेवा लिनेको चाप छ । तर, अप्रेशन थ्रियटरको सीमितता, जनशक्तिको अभाव लगायतका कारणले शल्यक्रिया सेवालाई थप प्रभावकारी गराउन भने नसकिएको अस्पतालले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्