तपाईँ सुन्दै हुनुहुन्छः

गमगढी-तारापानी सोरुकोट सडक दुई हप्तादेखि अवरुद्ध

मुगु  । अविरल बर्षाका कारण पहिरोले सडक लगेपछि गमगढी-तारापानी सोरुकोट सडक दुई हप्ताबाट अवरुद्ध भएको छ ।

सोरु गाउँपालिका वडा न ८ मा रहेको आशिधारा खोला भन्ने स्थानमा सडक माथिबाट आएको पहिरोले सडक नै लगेपछि २ हप्ता देखि गमगढी-सोरुकोट सडक अवरुद्ध हुँदै आएको हो ।

सडक अवरुद्ध भएपछि सिङ्गो सोरु गाउँपालिकाका जनतालाई  जिल्ला सदरमुकामसम्म र सदरमुकामबाट सोरु गाउँपालिका तिर आउजाउ गर्न समस्या हुँदै आएको छ । पहिरोले करिब १० मिटर सडक लगेर नाम निसान समेत राखेको छैन,अहिले मानिसहरू गमगढी बजारबाट जिपमा पहिरो गएको ठाउँसम्म आउने र त्यहाँबाट पहिरोलाई छल्दै दौडेर पहिरो पार गरि पारिपट्टि रहेका सोरुकोट तारापानीबाट आएका जिप चढेर जाने आउने गर्दै आएका छन् ।

तन्नेरी युवा युवतिहरू त माथिबाट खस्ने माटो,ढुङ्गा छल्दै १०० मिटर पहिरो पार गर्दै आएका छन् तर महिला,बालबालिका,ज्येष्ठ नागरिक र अशक्त,बिरामीहरूलाई भने पहिरो पार गर्न कठिनाइ हुँदै आएको र सोरुबासीहरु सो स्थानमा जोखिमपूर्ण यात्रा गरिरहेको  सञ्चारकर्मी सर्जन बहादुर शाहिले जानकारी गराउनु भयो । 

सञ्चारकर्मी शाहिले दिएको जानकारी अनुसार पालिकाले सोरु र छायानाथ रारा नगरपालिका सिमाना पातिहाल्ना देखि पहिरो गएको स्थानसम्म एक्स्काभेटर लगाएर साना तिना पहिरा हटाएर पनि आशिधारा खोलाको पहिरो पन्छाएर सडक बनाउन सकिँदैन भनेर स्काभेटर फर्किएको थियो ।

गमगढी-तारापानी-सोरुकोट र तारापानी-धैन-दोमुख सडक कर्णाली प्रदेश सरकार मातहतको सडक हो । बर्षाको बेला आउने अवरोध हटाउने र सडक स्त्तरौन्नती,सुरक्षित र मापदण्ड अनुसार बनाउने जिम्मेवारी कर्णाली प्रदेश सरकारको भएपनी त्यो तर्फ कर्णाली प्रदेश सरकारको ध्यान नदिँदा बर्सेनि सडक अवरुद्ध हुँदा सोरुबासिहरु जोखिम मोल्न बाध्य छन् । 

एक त गाउँपालिका त्यसमा पनि आउने न्यून बजेटले १०० मिटर भन्दा चाख्लो पहिरो पन्छाएर सडक बनाउन बजेटले पुग्दैन । गत वर्ष पनि त्यही ठाउँमा ठूलो पहिरो गएकाले जनताको अन्य विकास योजना काटेर सामान्य सडक खुलाइयो तर यो चोटि कसरी पहिरो पन्छाउने,सडक बनाउने आफ्नो मातहतको सडक भएपनी कर्णाली प्रदेश सरकार कानमा तेल हालेर बसेको छ,हाम्रा जनताले दुख्ख पाउने भएकाले साउन पूर्णिमा पछि वर्षा रोकिएपछि पहिरो पन्छाउने र सडक बनाउने तिर गाउँपालिका लाग्ने सोरु गाउँपालिकाका अध्यक्ष धर्म बहादुर शाही बताउनुहुन्छ । 

सडक अवरुद्ध हुँदा गमगढी बजारबाट व्यापारको लागि सोरु गाउँपालिका तिर लिइने दैनिक उपभोग्य सामान तथा निर्माण सामाग्रीहरूको ढुवानी लागत बढ्दा सोरुबासीहरुले चर्को मूल्यमा सामान किन्नु परिरहेछ । 

गमगढी-तारापानी २३ किमी सडक बेलायती सहयोग नियोग डिफिटको आर्थिक सहयोगमा ग्रामीण पहुँच कार्यक्रम (र्‍याप थिरी) ले बनाएर प्रदेश सरकारलाई हस्तान्तरण गरेको सडक हो । प्रदेश सरकारलाई हस्तान्तरण गरेदेखि हस्तान्तरण मै सीमित छ प्रदेश सरकारले सडक विस्तार,स्तरोन्नति तथा अन्य सुधारका काममा ध्यानै दिएको छैन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button