तपाईँ सुन्दै हुनुहुन्छः

मोतीलक्ष्मी उपासिका क्रान्तिकारी तथा प्रेरणादायी नारी साहित्यकार

काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठान र नेपाल भाषा मिसा खल: को सहकार्यमा नेपाल भाषाका साहित्यिक सर्जक तथा अभियन्ता मोतीलक्ष्मी उपासिकाको ११५औँ जन्मजयन्ती मनाइएको छ ।

सो नेपालभाषा–साहित्यका अध्येता प्रा.प्रेमशान्ति तुलाधरले ’नेपाल भाषा साहित्यका एक सशक्त नारी हस्ताक्षर मोतीलक्ष्मी उपासिका’ विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

बिहीबार आयोजित कार्यक्रममा भाषा आयोगका सदस्य सुरेश किरणले पानसमा बत्ती बालेर कार्यक्रमको समुद्घाटन गर्नुभयो ।

उहाँले मोतीलक्ष्मी उपासिका अग्रगामी नारी चेतना भएकी एक क्रान्तिकारी र जुझारु लेखिका भएको बताउनुभयो । उहाँले मोतीलक्ष्मी नेपाली र नेपाल भाषाकी साहित्य सर्जक, साङ्गठनिक, साहित्यिक अभियन्ता र सबै मातृभाषाका लागि प्रेरणाको स्रोत भएको बताउनुभयो ।

प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले मोतीलक्ष्मी उपासिकाले नेपालभाषा र साहित्यमा पुर्याएको योगदानबाट कोही पनि विमुख रहनुहुँदैन भन्नुहुँदै उहाँका बारेमा गहिरो खोज अनुसन्धान हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले एउटा भाषा हरायो भने राष्ट्रको ठुलो अङ्ग हराउँछ भन्ने चेतना स्वयम् राज्यको हुनुपर्ने धारणा राख्नुभयो ।

प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा अनुवाद विभाग प्रमुख हंसावती कुर्मी ’हंसा’ले मोतीलक्ष्मी उपासिकाले साहित्यिक क्षेत्रमा पुर्याएको योगदानलाई नयाँ पुस्तासम्म पुर्‍याउन यस कार्यक्रमले महत्त्वपूर्ण देन रहने बताउनुभयो ।

कार्यक्रमका प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा भाषा(मातृभाषा कोष तथा व्याकरण) विभाग प्रमुख त्रैलोक्यमान बनेपाली ’अगिव’ ले साहित्यमा विशिष्ट योगदान गर्नुभएकी मोतीलक्ष्मी उपासिका नेपाल भाषा–साहित्य मात्र नभई सिङ्गो नेपाली साहित्यकी प्रेरणादायी एक क्रान्तिकारी नारी हस्ताक्षर रहेको दाबी गर्नुभयो । उहाँले एक सर्जक, सङ्गठन र अभियन्ता रहेकी उपासिकाको व्यक्तित्वलाई उजागर गर्न अझै बाँकी रहेको बताउनुभयो ।

उक्त कार्यपत्र प्रस्तुत गर्दै प्रा.प्रेमशान्ति तुलाधरले नेपाल भाषाका विशिष्ट प्रतिभा चितधर ’हृदय’ जस्ता साहित्यिक महारथीहरूको प्रशिक्षण र प्रेरणा पाएर कलम चलाएकी मोतीलक्ष्मी उपासिकाले राणाकालीन कालरात्रीमा पनि देशकाल परिस्थितिसँग जुधेर नेपाल भाषाको संरक्षण र संवर्द्धनका लागि अगाडि बढ्नुभएको बताउनुभयो ।
उहाँले जेलमा परेका आफ्नो दाजु चित्तधरलाई अनेकौँ जुक्तिले जेलभित्र आवश्यक सामाग्री जुटाई साहित्य सिर्जनामा अभिप्रेरित गर्ने र जेलकृत रचनालाई गुप्त रूपमा ल्याएर सुरक्षित राख्ने मोतीलक्ष्मी त्याग र बलिदानकी प्रतिमूर्ति भएको बताउनुभयो ।

कार्यपत्र प्रस्तोता तुलाधरले नेपाल भाषाका क्षेत्रमा पहिलो आधुनिक कथाकार तथा नेपाली भाषाको प्रथम महिला कथाकारका रूपमा परिचित रहेको बारे उल्लेख गर्नुहुँदै मोतीलक्ष्मीलाई नीति, उपदेशमूलक, दार्शनिक तथा स्वच्छन्दतावादी दृष्टिकोण व्यक्त गर्ने नेपाल भाषाको आधुनिक गद्य साहित्यका लागि विशुद्ध सेतुको रूपमा चित्रण गर्नुभएको थियो ।

उहाँले महिलाहरूको सहभागितासहित ‘नेपाल भाषा मिसा खल:’ जस्ता संस्था खोलेर मोतीलक्ष्मी नेपाल भाषाको श्रीवृद्धिका साथै मातृभाषाको उन्नयनमा प्रेरक व्यक्तित्व बन्नुभएको उल्लेख गर्नुभयो ।

उक्त कार्यपत्रमाथि प्राज्ञ द्वय चेतनाथ धमला र सूर्यप्रसाद यादव, सहभागीका तर्फबाट तिलकप्रकाश कायस्थ, शाक्य सुरेन र हरिशरण राज उपाध्याय शर्माले आ–आफ्नो जिज्ञासासहित टिप्पणी राख्नुभयो ।

कार्यक्रममा लोक कवि राजभाइ जकमीले ‘मोतीलक्ष्मी उपासिका’ शीर्षकको आफ्नो कविता वाचन गर्नुभयो ।

समाजसेवी तथा साहित्यकार कृष्णलाल प्रधान र नेवा देय् गुठीका अध्यक्ष पवित्रा बज्राचार्यले उहाँको योगदानबारे आ–आफ्नो धारणा राख्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button