तपाईँ सुन्दै हुनुहुन्छः

कञ्चनपुरमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जना भारतीय नागरिकको मृत्यु

कञ्चनपुर। कञ्चनपुरमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जना भारतीय नागरिकको मृत्यु भएको छ । 

गए राति १०:२० बजेको समयमा कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ४ सिचाइ कार्यालय अगाडि पूर्व पश्चिम राजमार्गमा युके ०३ ए ९०३४ नम्बरको मोटरसाइकल छाडा गाईसँग ठोक्किन जाँदा चालक  भारतको चम्फावत जिल्ला मिनाबजार बनबासा बस्ने अन्दाजी २८।३० वर्षीय चाँद पुरैसीको मृत्यु भएको हो । गम्भीर घाइते भएका  पुरैसीलाई उपचारको लागि महाकाली प्रादेशिक अस्पतालमा लगिएकोमा राति १०:३१ बजे  चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।  गाईको भने घटना स्थलमा नै मृत्यु भएको बताइएको छ । 

यसै गरी, आज बिहान ०३ बजेको समयमा कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका वडा नम्बर ४ चाँदनी स्थित पक्की सडक खण्डमा उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको युके ०६ बिएच ४८७५ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई सडक छेउको पोलमा ठोक्किई दुर्घटना हुँदा नाम थर वतन नखुलेका अन्दाजी ३०।३५ वर्षीय २ जना पुरुष गम्भीर घाइते भई उपचारको लागी दोधाराचाँदनी अस्पताल ल्याइएकोमा १ जनालाई बिहान ०३:४५ बजे चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेको र १ जनाको अवस्था गम्भीर भई महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

यी दुवै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको कञ्चनपुर प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button