तपाईँ सुन्दै हुनुहुन्छः

पर्साले तीन मन्त्री पाएपछि जिल्लावासी उत्साहित 

वीरगंज । नवगठित सरकारमा पर्सा जिल्लाले पहिलोपटक तीन जना क्याबिनेट मन्त्री पाएपछि जिल्लाबासी उत्साहित भएका छन् ।

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा गठित सरकारमा पर्सा क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद प्रदीप यादव खानेपानी मन्त्री, पर्सा क्षेत्र नम्बर २ बाट निर्वाचित अजय चौरसिया कानुन, न्याय तथा संसदीय मामिला मन्त्री र पर्सा क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद राजकुमार गुप्ता संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री बन्नु भएको छ ।

यादव जसपाका उपमहासचिव, चौरसिया नेपाली कांग्रेसका केन्द्रिय सदस्य र गुप्ता नेकपा एमालेका केन्द्रिय सदस्य समेत रहनु भएको छ । 

यादव यसअघि दुई पटक मन्त्री बनी सक्नु भएको छ । उहाँले बन तथा वातावरण र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीको रुपमा काम गरेको अनुभव रहेको छ । 

त्यसैगरी पर्सा क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद अजय चौरसिया यसअघि २०५८ सालमा कांग्रेसको सरकारमा स्थानीय विकास सहायकमन्त्री रहनु भएको थियो । झण्डै २३ बर्ष पछि क्याबिनेट मन्त्रीको रुपमा पहिलो पटक सांसद चौरसिया कानुन, न्याय तथा संसदीय मामिला मन्त्री बन्नु भएको छ ।

त्यसैगरी पर्सा क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद राज कुमार गुप्ता पहिलो पटक मन्त्री बन्नु भएको हो । गुप्ता संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री बन्नु भएको छ । 

पर्सा जिल्लाका ४ निर्वाचित क्षेत्र मध्ये ३ जना सङ्घीय सरकारको मन्त्री बनेपछि जिल्लाको विकास र समग्र मधेशको समुन्नतका लागि पहलकदमी हुने अपेक्षा जनताले लिएको नेकपा एमालेका नेता शम्भु गुप्ताले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button