पत्रकारिताको खोल ओढेर समाज विकृत गराउने छुट कसैलाई छैन : नगर प्रमुख सिंह

वीरगंज । वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले पत्रकारिताको खोल ओढेर समाजमा विकृति विसङ्गति फैलाउने कथित पत्रकारलाई श्रमजीवी पत्रकारहरूले बहिस्कृत गर्नु पर्ने कुरामा जोड दिनु भएको छ ।
वीरगंज महानगरपालिकाको सहयोगमा आजदेखि सुरु भएको तीन दिने आम सञ्चारकर्मीलाई क्षमता अभिवृद्धि तालिमको उद्घाटन गर्नुहुँदै नगर प्रमुख सिंहले पत्रकारिताको जग बलियो बनाउन महानगर सधैँ सहयोग गर्न तयार रहेको बताउनु भयो ।
उहाँले मर्यादित पत्रकारिता आजको आवश्यकता रहेको भन्दै वीरगंजको पहिचान वृद्धि गर्ने गरि समाचार सामग्री पस्कन पनि सबैसँग आग्रह गर्नुभयो । कसैको व्यक्तिगत जीवनमा पसेर उसको चियो चर्चो गर्नुभन्दा समाज र सामाजिक समस्यालाई उठान गर्न पत्रकारहरू लागि पर्नु पर्नेमा पनि उहाँले जोड दिनुभयो । काम गर्दा त्रुटि भए सुधार गर्न आफू जहिल्यै पनि तयार रहेको भन्दै उहाँले गरेका काममा खोँचे थाप्नु भन्दा त्रुटि औँल्याएर सच्चिने बनाउन पत्रकारहरूले कलम चलाउनु उचित हुने बताउनुभयो ।
कार्यक्रममा वरिष्ठ पत्रकार चन्द्र किशोर झाले अहिले राम्रा र मेहनती पत्रकारको खाँचो रहेको बताउनु भयो । सञ्चारकर्मीको काम सही बाटो देखाउने रहेको भन्दै उहाँले कहिल्यै पनि विरोधी जसरी प्रस्तुत हुन नहुने बताउनुभयो ।
कार्यक्रममा पत्रकार महासङ्घ पर्साका सभापति अनुप तिवारीले पत्रकारहरूको क्षमता अभिवृद्धिका लागि महानगरले गरेको सहयोगको प्रशंसा गर्नुभयो ।
कार्यक्रममा महानगरपालिकाको आम सञ्चार प्रवद्र्धन समितिका संयोजक ध्रुब अधिकारीले पर्सेली पत्रकारितालाई मजबुत बनाउन महानगरपालिकाले ठूलो लगानी गरिरहेको बताउनु भयो ।
पत्रकारको क्षमता अभिवृद्धि, ज्येष्ठ पत्रकार पेन्सन योजना, पत्रकार विपत् कोष, लोककल्याणकारी विज्ञापन वितरण तथा अन्य विभिन्न कार्यक्रम सञ्चालन गरेको बताउँदै संयोजक अधिकारीले बीरगंजका पत्रकारहरूलाई मजबुत बनाउने काम महानगरले गरिरहेको दाबी गर्नु भयो ।
मधेस खबरका सञ्चालक क्रान्ति साहको अध्यक्षतामा सुरु भएको कार्यक्रमको सञ्चालन श्याम सर्राफले गर्नुभएको थियो भने स्वागत सञ्चारकर्मी माधुरी महतोले गर्नु भएको थियो ।
मधेस खबर मल्टिमिडिया प्रा.लि.को आयोजनामा सुरु भएको प्रशिक्षण कार्यक्रममा वीरगंजका विभिन्न सञ्चारमाध्यममा कार्यरत २५ जना सञ्चारकर्मीको सहभागिता रहेको छ ।







प्रतिक्रिया राख्नुहोस्