तपाईँ सुन्दै हुनुहुन्छः

रामाफोसाद्वारा दक्षिण अफ्रिकाको राष्ट्रपतिको सपथ ग्रहण

दक्षिण अफ्रिकाको सत्तारूढ अफ्रिकी राष्ट्रिय कांग्रेस (एएनसी) का नेता सिरिल रामाफोसाले बुधबार प्रशासनिक राजधानी प्रिटोरियामा आयोजित समारोहमा आगामी पाँच वर्षका लागि मुलुकको राष्ट्रपति पदको सपथ लिनुभएको छ । 

“गणतन्त्रको राष्ट्रपतिको हैसियतमा स्वतन्त्रताको नयाँ दशकमा प्रवेश गर्दा हाम्रो मुलुकले सामना गरिरहेका चुनौतीको समाधान खोज्न योगदान गर्न इच्छुक हरेक राजनीतिक दल र क्षेत्रसँग पुग्न र काम गर्न म सबैसँग काम गर्नेछु”, रामाफोसाले सपथ ग्रहण समारोहमा आफ्नो सम्बोधनमा भन्नुभयो । 

जुन १४ मा संसद्को तल्लो सदन नेसनल एसेम्बलीमा दुई सय ८३ मत प्राप्त गरेर ७१ वर्षीय रामाफोसा दक्षिण अफ्रिकाको राष्ट्रपतिका रूपमा पुनः निर्वाचित हुनुभयो । उहाँका प्रतिद्वन्द्वी इकोनमिक फ्रिडम फाइटरका जुलियस मालेमालाई ४४ मत प्राप्त भयो । 

दक्षिण अफ्रिकाको संविधानबमोजिम नेसनल एसेम्बलीबाट चयन भएको पाँच दिनभित्र निर्वाचित राष्ट्रपतिले पदभार ग्रहण गर्नुपर्छ । 

“हामी सबै दल, नागरिक समाज, श्रम, व्यापार र अन्य संरचनाहरूलाई मुलुकले सामना गर्ने गम्भीर चुनौतीहरूमा राष्ट्रिय संवादका लागि आमन्त्रण गर्नेछौँ”, राष्ट्रिय एकताको सरकार बनाउने महत्त्वमाथि जोड दिँदै रामाफोसाले भन्नुभयो, “हामीले हाम्रो इतिहासका धेरै महत्त्वपूर्ण क्षणहरूमा गरेजस्तै हाम्रो राष्ट्रिय विकास योजनाका आकांक्षाहरूलाई साकार बनाउन सामाजिक सम्झौता बनाउने प्रयास गर्नेछौँ ।”

मे २९ मा भएको आम निर्वाचनमा एएनसीले नेसनल एसेम्बलीको चार सय सिटमा एक सय ५९ सिट हासिल गर्यो । यो सङ्ख्या संसद्को तल्लो सदनमा आफ्नो ३० वर्ष पुरानो स्पष्ट बहुमत कायम राख्नका लागि आवश्यक ५० प्रतिशतभन्दा कम थियो ।

एएनसी, डेमोक्रेटिक अलायन्स, इन्कथा फ्रिडम पार्टी, गुड एन्ड पेट्रिओटिक अलायन्ससहित कूल पाँच राजनीतिक दलले आधिारिकरूपमा राष्ट्रिय एकताको सरकारमा सहभागी हुने उद्देश्यले एक विज्ञप्तिमा हस्ताक्षर गरेको एएनसीले सोमबार घोषणा गरेको थियो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button