तपाईँ सुन्दै हुनुहुन्छः

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्ण आपतकालीन अभ्यास

भैरहवा । दुर्घटना पूर्वतयारी स्वरूप भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्ण आपतकालीन अभ्यास गरिएको छ । जिल्लास्थित सुरक्षाकर्मी,  स्वास्थ्यकर्मी, सरोकारवाला नागरिकको सहभागितामा विमानस्थलमा पूर्ण आपतकालीन अभ्यास गरिएको हो । 

दुई वर्षको अन्तरमा गर्ने गरिएको यस्तो खालको अभ्यासले विमानस्थल भित्र दुर्घटना भइहाले क्षति न्यूनीकरणमा टेवा पुग्ने विश्वास लिइएको छ ।  पूर्ण आपतकालीन अभ्यासलाई वास्तविक तुल्याउन विमानस्थलमा रहेको पुरानो विमानमा आगलागी गराइएको थियो । त्यसपछि उद्धार, उपचार र सावधानीका कार्यलाई सजिव ढंगले प्रस्तुत गरिएको थियो ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन नियम अनुसार अन्तर्राष्ट्रिय विमानस्थलमा प्रत्येक दुई वर्षमा सम्पूर्ण सरोकारवालाको सहभागितामा दुर्घटना न्यूनीकरणका तथा आपतकालीन उद्धारको अभ्यास गर्नुपर्ने अनिवार्य व्यवस्था गरिएको छ ।

विमानस्थलको धावन मार्गको दक्षिणतर्फ रहेको क्राइसिस म्यानेजमेन्ट क्षेत्रमा बिहान उडान भरिरहेको अवस्थामा चरा ठोक्किएर अनियन्त्रित बनेपछि चालकले आपतकालीन अवस्था घोषणा गरेर ल्याण्डिङ गरेपछि विमानमा आगलागी भएको अवस्थाको कल्पनामा यस्तो अभ्यास गरिएको थियो ।

विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले तीनवटा हाई अलर्ट अवस्था सिर्जना गरेर यस्तो अभ्यास गरिएको बताउनुभयो। उहाँका अनुसार अन्तर्राष्ट्रिय विमानस्थलले प्रत्येक दुई वर्षमा ‘फुल स्केल’ मा यस्तो अभ्यास गर्नुपर्छ । 

सोमबार गरिएको अभ्यासमा विमानस्थल कर्मचारीका साथै नेपाली सेना, नेपाल र सशस्त्र प्रहरी, फायर फाइटर, चिकित्सक, रेडक्रस र नागरिक सरोकारवालको सहभागिता रहेको थियो ।

महाप्रबन्धक तिवारीले छिटो उद्धार कार्य सकेर कम समयमा विमानस्थललाई कसरी सामान्य अवस्थामा फर्काउन सकिन्छ भन्नेबारे पनि अभ्यास गरिएको बताउनुभयो। क्राइसिस क्षेत्रमा विमान अवतरण भएको कल्पना गरेर त्यहाँ रहेको पुरानो विमान नजिकै पानीमा आगो लगाइएको थियो ।

आगो लागेपछि विमानस्थलका आपतकालीन उद्धार वाहनले निभाएका थिए । उक्त कार्यमा नेपाली सेना, नेपाल र सशस्त्र प्रहरीले सघाएका थिए । विमानको आगो निभाएपछि यात्रुको उद्धार अभ्यास गरिएको थियो ।

विमानबाट निकालिएका यात्रुको घटनास्थलमा पुगेका चिकित्सक र स्वास्थ्यकर्मीले प्राथमिक उपचार गर्नुका साथै घाइतेको अवस्था अनुसार वर्गीकरण गरेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button