सुदूरपश्चिम प्रदेश सरकारको नीति तथा कार्यक्रमप्रति एमालेको समर्थन

धनगढी । नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सरकारको नीति तथा कार्यक्रमको स्वागत गरेको छ । आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता राजेन्द्रसिंह रावलले प्रदेश सरकारले ल्याएको आगामी आर्थिक बर्ष २०८१/८२ को नीति तथा कार्यक्रम स्वागतयोग्य रहेको बताउनु भयो ।
सरकारले प्रदेश सभा बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई एमाले संसदीय दलले स्वागत र समर्थन गर्दछ, उहाँले भन्नुभयो । नेता रावलले नीति तथा कार्यक्रम बमोजिम बजेट ल्याउनु पर्नेमा जोड दिँदै नेता रावलले शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि, पर्यटन, सिचाई, पूर्वाधार विकास तथा सामाजिक कार्यक्रम सहित सम्पूर्ण भूगोल, वर्ग समुदाय, क्षेत्र समेटेर सरकारले नीति तथा कार्यक्रम ल्याएको बताउनु भयो ।
प्रदेश सरकारको नीति तथा कार्यक्रममा एमालेले उठाएका विषय बस्तुलाई समावेश गरिनु सकारात्मक रहेको भन्दै अब प्रदेश सरकारले जनमुखी, जनमैत्री बजेट ल्याउन आवश्यक रहेको उहाँले बताउनु भयो नेता रावलले बजेट निर्माणका सन्दर्भमा एमालेले सरकारलाई पूर्ण सहयोग गर्ने बताउनु भयो । आइतबारको प्रदेश सभा बैठकमा प्रदेश प्रमुख नजिर मियाँले प्रदेश सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो । सञ्चारकर्मीको जिज्ञासामा नेता रावलले सरकारलाई समर्थन छ, एमाले तत्काल सरकारमा सहभागी हुँदैन भन्नुभयो । एमालेका लागी सत्ता प्राथमिकतामा नभएको उहाँले बताउनु भयो । नेता रावलले बजेट निर्माणमा बिचौलियाको सक्रियता बढेको भन्दै त्यसतर्फ प्रदेश सरकार गम्भीर बन्नु पर्ने औँल्याउनु भयो ।
सुदूरपश्चिम प्रदेशमा एमाले, माओवादी केन्द्र, नाउपा र स्वतन्त्रको समर्थनमा एकीकृत समाजवादीका दीर्घ बहादुर सोडारी मुख्यमन्त्री हुनु हुन्छ । वैशाख ६ गते मुख्यमन्त्रीमा नियुक्त भएका सोडारीले सामाजिक विकास मन्त्रालय, आर्थिक मन्त्रालय, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको समेत जिम्मेवारी समाल्नु भएको छ । यहाँले नागरिक उन्मुक्तिका दुई जना मन्त्री भएपनि सत्ता साझेदार एमाले र माओवादी केन्द्र सरकारमा सहभागी भएको छैन ।








प्रतिक्रिया राख्नुहोस्