क्यानका महासचिव अधिकारी ‘आइसिटी एक्सिेलेन्स अवार्ड २०२४’ बाट सम्मानित
काठमाडौँ । नेपालको सूचना तथा सञ्चार प्रविधि (आइसिटी) क्षेत्रमा उल्लेखनीय योगदान दिएको भन्दै कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ (क्यान महासङ्घ) का महासचिव चिरञ्जीवी अधिकारीलाई प्रतिष्ठित आइसिटी एक्सिलेन्स अवार्ड २०२४ प्रदान गरिएको छ ।

चन्द्रलोक फाउन्डेसनले आयोजना गरेको एक विशेष समारोहमा मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले अधिकारीलाई उक्त अवार्ड प्रदान गर्नुभएको हो। आइसिटी क्षेत्रको विकास र विस्तारमा अधिकारीले पुर्याएको योगदानलाई कदर गर्दै यो अवार्ड दिइएको आयोजकले जनाएको छ ।
चितवनको भरतपुर महानगरपालिका निवासी चिरञ्जीवी अधिकारी साइबर सुरक्षा र नेटवर्किङका विशेषज्ञ हुनुहुन्छ । प्राविधिक रूपमा विभिन्न ग्लोबल सर्टिफिकेट प्राप्त गर्नुभएका उहाँले इन्फरमेसन सेक्युरिटी, आइटी गभर्नेन्स, साइबर सेक्युरिटी, साइबर सेक्युरिटीमा एआई र इन्फरमेसन सेक्युरिटी म्यानेजमेन्ट सिस्टमका महत्वपूर्ण विषयमा काम गर्नुभएको छ ।
अधिकारीले आइसिटी क्षेत्रमा युवा तथा स्टार्टअपको मुद्दालाई प्राथमिकताका साथ उठाउँदै आउनुभएको छ । साथै सूचना प्रविधिसम्बन्धी नीति निर्माणमा संस्थागत तथा व्यक्तिगत रूपमा योगदान दिँदै आउनुभएको छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय पत्रिकाहरूमा उहाँका दर्जनौँ लेख तथा अन्तर्वार्ता प्रकाशित छन् ।
क्यान महासङ्घमा महासचिवको भूमिकाका अतिरिक्त अधिकारी नेपालको आइसिटी क्षेत्रका केही प्रमुख संस्थाहरूका प्रेरणादायी व्यक्तित्व समेत हुनुहुन्छ । उहाँ इन्फरमेसन सेक्युरिटी रेस्पोन्स टिम (एनपी सर्ट) र सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एन्ड इनोभेसन (सीएसआरआई) का संस्थापक अध्यक्ष हुनुहुन्छ ।
नेपालको चर्चित साइबर सुरक्षा कम्पनी वनकभर प्राइभेट लिमिटेडका प्रबन्ध निर्देशक उहाँ सफ्टवेयर कलेज अफ आइटी एन्ड इकमर्स र टेक्सास कलेज अफ म्यानेजमेन्ट जस्ता शैक्षिक संस्थाहरूमा अध्यापन गराउनुहुन्छ ।
आइसिटी एक्सिेलेन्स अवार्ड २०२४ बाट सम्मानित भएपछि अधिकारीले यो क्षेत्रमा अझ सक्रिय भएर लाग्न थप प्रोत्साहन मिलेको बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्