गणतन्त्र स्थापनापछि देश सुरुङ युगमा प्रवेश

काठमाडौँ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा भएपछि मुलुक सुरुङ युगमा प्रवेश गरेको छ ।
आधुनिक सुरुङ मार्गका रुपमा नागढुंगा– सिस्नेखोला सुरुङ र सुनकोशी– मरिन डाइभर्सन ब्रेक थ्रु भइसकेका छन् । भौगोलिक रूपले विकट तथा कठिनाइ रहेको नेपाल पूर्वाधार विकास अन्तर्गत सुरुङ युगमा अघि बढ्ने क्रममा छ । सुरुङ मार्गका कारण सवारी जाम र दुरी कम हुने हुँदा छोटो समयमा नै गन्तव्यमा पुग्न सकिनेछ ।
सडक विभागको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका निर्देशक नरेश मान शाक्यले ब्रेक थ्रु भइसकेको २ दशमलव ६८ किलोमिटरको सिस्नेखोला नागढुंगा सुरुङमार्गमा एक वर्षभित्रै सवारी साधन सञ्चालन हुने जानकारी दिनुभयो । यसैगरी, उहाँले राष्ट्रिय गौरवको आयोजना अन्तर्गत तराई मधेस द्रुत मार्गका तीनवटा सुरुङहरूमध्ये एउटाको ब्रेक थु्र भएको र बाँकी दुई वटाको पनि ब्रेक थ्रु हुने क्रममा रहेको जानकारी दिनुभयो ।
बुटवल– पाल्पा सडक खण्ड अन्तर्गत सिद्धबाबा सुरुङमार्गको पनि ६ महिनाभित्र ब्रेक थ्रु हुनेछ । यसैगरी अर्को आर्थिक वर्षसम्म ५ वटा सडक यातायात सञ्चालन हुने गरी सुरुङ मार्ग ब्रेक थ्रु गरिने निर्देशक शाक्यले जानकारी दिनुभयो । सुरुङ मार्ग बनाउन सजिलो नभएपनि अब नेपालमै सुरुङ निर्माण सम्बन्धी सिप र विज्ञहरुको उत्पादन भइसकेको छ ।
सुरुङ निर्माण गर्न पहिलाको जस्तो अलमलको अवस्था नभएको र आवश्यक परेमा सबै काम नेपालीले नै गर्न सक्ने जनशक्ति उत्पादन भइसकेको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका निर्देशक शाक्यले बताउनुभयो । निकट भविष्यमा काठमाडौँ उपत्यकाको कोटेश्वर –तीनकुने, टोखा– छहरे सुरुङ मार्ग, चितवन र बुटवलका बीचमा पर्ने दाउन्ने सुरुङमार्ग, सात दोबाटोदेखि एकान्त कुनासम्म निर्माण गरिने सुरुङ मार्गका लागि अध्ययन भइसकेको छ ।
स्रोत सुनिश्चित हुने बित्तिकै अध्ययन भइसकेका सुरुङ मार्गको काम अगाडि बढ्ने छ । सरकारले भौगोलिक विकटतालाई ध्यानमा राखी यातायात सहज बनाउन सुरुङमार्ग सञ्चालन गर्ने कार्यलाई निरन्तरता दिन सके मुलुकको समृद्धिमा थप टेवा पुग्नेछ ।







प्रतिक्रिया राख्नुहोस्