उपराष्ट्रपति यादवसँग पाकिस्तानी राजदूतको शिष्टाचार भेट
काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग पाकिस्तानका राजदूत अबरार एच हाशमीले लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेट गर्नुभएको छ ।

भेटघाटमा उहाँहरुबीच बधाई तथा शुभकामना आदान–प्रदानका साथै द्विपक्षीय सम्बन्ध, व्यापार तथा आर्थिक सहयोग, शैक्षिक तथा सांस्कृतिक सहयोग र क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सहयोगका विषयमा छलफल भएको थियो ।
उपराष्ट्रपति यादवले नेपाल र पाकिस्तानबिच सन् १९६० मार्च २० मा कूटनीतिक सम्बन्ध स्थापना भएयता निकट र सुमधुर सम्बन्ध रहेको बताउनुभयो । उहाँले दुई देशबीच उच्चस्तरीय भ्रमणको आदानप्रदानले सधैँ हाम्रो सम्बन्धका सबै पक्षहरूमा गतिशीलता र गुणस्तर बढाएको समेत बताउनुभयो ।

उपराष्ट्रपति यादवले नेपाल र पाकिस्तानले व्यापार र आर्थिक क्षेत्रमा सहयोग विस्तार गर्नुपर्नेमा जोड दिनुभयो ।
महामहिम राजदूत अबरार एच हाशमीले नेपाल र पाकिस्तानबिचको सम्बद्ध अत्यन्तै प्रगाढ रहेको उल्लेख गर्दै यसलाई अझ उचाइमा दुई मुलुक मिलेर अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले नेपाल र पाकिस्तानबिच अवरुद्ध हवाई सेवा पुनः सुचारु गर्नुपर्नेमा जोड दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्