प्रतिनिधि सभाको बैठक भोलि सम्मका लागि स्थगित

काठमाडौँ । प्रतिनिधि सभाको बैठक भोलि सम्मका लागि स्थगित भएको छ । यसअघिको आज बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले अवरोध गरेपछि १५ मिनेटको लागि स्थगित गरिएको बैठक सूचना टाँसेर भोली सम्मका लागि स्थगित गरिएको हो ।बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरु आ–आफ्नो स्थानमा उठेर विरोध गर्नु भएको थियो ।
सभामुख देवराज घिमिरेले समय दिएपछि कांग्रेसका सचेतक सुशीला थिङले सहकारी अनियमिततामा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिन गर्न संसदीय समिति गठनको माग राख्नुभयो । उहाँले सहकारीमा भएको अनियमितताको विषयमा छानविन गर्न सरकार गैर जिम्मेवार रुपमा प्रस्तुत भएको भन्दै समिति नबनेसम्म कुनै पनि कामकारबाही अगाडि नबढाउन आग्रह गर्नुभयो ।
सांसद थिङले आफ्नो कुरा राखेपछि सत्तापक्षका सांसदहरुले पनि उठेर बोल्न समय माग गरेपछि सभामुखले रास्वपाका सांसद मनिष झालाई समय दिए पनि कांग्रेसका सांसदहरु उभिएर विरोध गरिरहनुभयो ।
सदनमा दुवै पक्षका सांसदहरु उभिइरहँदा सभामुख देवराज घिमिरेले सदन अवरुद्ध हुँदा जनताको आवाज उठाउन अवरोध हुने भन्दै सांसदहरूलाई आ–आफ्नो स्थानमा आशन ग्रहण गरी सभा सञ्चालनमा सहयोग गर्न आग्रह गर्नुभएको थियो ।
सदनमा उभिएर विरोध गरिरहनुभएका सांसदहरूलाई सभामुख घिमिरेले पटक–पटक बस्न आग्रह गरेपनि दुवै पक्षका सांसदहरुले सभामुखको आग्रहलाई नमानेपछि १५ मिनेटका लागि बैठक स्थगित गरिएको थियो ।
प्रतिनिधि सभाको अर्को बैठक भोलि बिहान ११ बजेका लागि बोलाइएको छ ।







प्रतिक्रिया राख्नुहोस्