भैरहवाको सिद्धार्थ भिलासाले पायो ५ तारे होटेलको मान्यता

भैरहवा । २६ वर्षको हस्पिटालिटी अनुभव भएको सिद्धार्थ हस्पिटालिटी ग्रुपले सञ्चालनमा ल्याएको भैरहवाको “सिद्धार्थ भिलास” ले पाँच तारे होटल स्तरको मान्यता पाएको छ ।
“भिलासा” सिद्धार्थ ग्रुपको लग्जरी ब्राण्ड हो । पर्यटन विभागले हालै होटलको स्थलगत अनुगमन तथा निरीक्षण गरी स्तरोन्नति गरेको हो । लुम्बिनी प्रदेशमा सञ्चालित उक्त होटललाई पर्यटन ऐन अनुसार पाँच तारा स्तरको होटलमा स्तर वर्गीकरण गरी यो इजाजतपत्र दिइएको छु पर्यटन विभागले भनेको छ ।
करिब ५ बिगाहा क्षेत्रफलमा विस्तारित होटलमा एउटा भिलासा भिएक्जुकेटिभ स्विट, २ वटा स्विट, ५ वटा जुनियर स्विट र ७७ एक्जुकेटिभ डिलक्स गरि ८५ वटा रुम रहेका छन् ।
होटलमा साना ठूला गरी पाँच वटा कन्फ्रेरेन्स हल र पाँच वटै रेस्टुरेन्ट आउटलेट रहेका छन् । होटलमा पन्ध्र सय जना क्षमताको ब्याङ्क्वेट हल रहेको छ जुन नेपालकै ठूलो ब्याङ्क्वेट हल भएको सिद्धार्थ हस्पिटालिटीका ग्रुपका प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले बताउनुभयो ।
स्थापनाको छोटो समयमै “डेस्टिनेसन वेडिङ” र अन्य पर्यटक गरि त्यस क्षेत्रमा उच्च सङ्ख्यामा भारतीय पर्यटक भित्र्याउन होटल सफल भएको र लुम्बिनी घुम्न आउने विभिन्न देशका पर्यटकहरू बिच लोकप्रिय भइरहेको यो होटलले पाँच तारा स्तरको मान्यता पाएसँगै सो व्यापारमा अझ राम्रो गर्ने आशा गरिएको न्यौपानेले बताउनुभयो ।
होटलमा जिम, ज्याकुजी, स्टिम, स्पा लगायत वेल्नेस सुविधा उपलब्ध छन् । हाल २ सय जनाले रोजगारी पाएकोमा अब केही समयमै क्यासिनो सञ्चालन पश्चात् झण्डै ५ सय जनालाई रोजगारी मिल्ने सिईओ न्यौपानेले बताउनुभयो । नेपालकै उत्कृष्ट क्यासिनो सञ्चालन गर्न सकिने गरी क्यासिनोको लागी संरचना समेत निर्माण भैसकेको छ ।
यस्तै यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा यस होटलले ठूलो भूमिका निर्वाह गर्ने कम्पनीका अध्यक्ष लक्ष्मण न्यौपानेले बताउनुभयो ।
सिद्धार्थ ग्रुपको आगामी योजना:
सिद्धार्थ ग्रुपले “भिजन २०३० को योजना अन्तर्गत सन् २०३० सम्ममा स्वदेश तथा विदेशमा कम्तीमा ५८ वटा साना तथा ठूला आउटलेट सञ्चालन गर्ने योजना बनाएको छ ।
अगामी वर्ष कैलालीको धनगढी, र तनहुँको दमौलीमा नयाँ होटल र रुपन्देहीको योगीकुटिमा ब्याङ्क्वेट सहितको रेस्टुरेन्ट सञ्चालनमा ल्याउने योजना छ ।
त्यस्तै आगामी वर्ष भित्रै पृथ्वी राजमार्गमा रहेको सिद्धार्थ रिभरसाइड रिसोर्टलाई चार तारेमा स्तरोन्नति गर्ने योजना अनुरुप काम भइरहेको न्यौपानेले जानकारी दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्