तपाईँ सुन्दै हुनुहुन्छः

झापामा हात्तीको आक्रमण बढ्दो, तीन दिनमा दुई जनाको मुत्यु

झापा । झापा जिल्लाको कमल गाउँपालिकामा शुक्रबार राति हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।

वडाध्यक्ष लालबहादुर बिष्टका अनुसार कमल गाउँपालिका–५ गुह्येश्वरी टोलकी ५८ वर्षीया खड्गमाया लिम्बूको हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।

छिमेकी पवित्रा बेघाको घरमा सुतिरहेका बेला राति ११ः५० बजे हात्तीले घर भत्काउन थालेपछि भाग्ने क्रममा निजमाथि आक्रमण भएको थियो । उनको घटनास्थलमा नै मृत्यु भएको वडाध्यक्ष बिष्टले बताउनुभयो ।

लिम्बू परिवार केही वर्षदेखि रतुवामाई वृक्षारोपण आयोजनाको जङ्गल हातामा कटेरो बनाई बस्दै आएका थिए । वर्ष दिनअघि सोही बस्तीमा हात्तीको आक्रमणमा परेर ५८ वर्षीय रोहित रेग्मीको मृत्यु भएको थियो ।

जिल्लाको शिवसताक्षीमा तीन दिनअघि हात्तीले आक्रमण गर्दा शिवसताक्षी–११ की ६० वर्षीया पवित्रा भेटवालको मृत्यु भएको थियो भने उनका श्रीमान् ६२ वर्षीय दिलीप भेटवाल गम्भीर घाइते भएका थिए ।

यस वर्ष हात्तीको आक्रमणबाट झापामा सात जनाको मृत्यु भइसकेको छ भने सात जना घाइते भएका डिभिजन वन कार्यालयकी सूचना अधिकारी अञ्जना पुरीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button