कोशी प्रदेशसभा विघटनको हल्ला निराधार : पूर्वमुख्यमन्त्री कार्की
कोशी प्रदेश सरकार एमाले नेतृत्वको हुन्छ

उदयपुर । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं कोशी प्रदेशका पूर्वमुख्यमन्त्री हिक्मतकुमार कार्कीले वर्तमान कोशी प्रदेशसभा विघटन हुने हल्ला निराधार भएको बताउनु भएको छ । पूर्वमुख्यमन्त्री कार्कीले प्रदेश सरकार विघटन नभएर अब कोशी प्रदेश सरकारको नेतृत्व एमालेले गर्ने दाबी गर्नु भयो ।
मङ्गलवार नेकपा एमाले उदयपुरको नवौं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै कार्कीले सर्वोच्च अदालतले विकल्प रहुँन्जेलसम्म सरकार गठन गर्न सकिने यस अघि व्याख्या गरेकाले कोशी प्रदेशसभा विघटनको हल्लाको पछि नलाग्न समेत आग्रह गर्नु भयो ।
नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेतासमेत रहनु भएका कार्कीले न्यायालयले प्रष्ट व्याख्या गरिसकेको विषयलाई अपव्याख्या गरेर संसद् विघटन हुन्छ भन्ने कुरामा कुनै सत्यता नरहेको जिकिर गर्नु भयो । उहाँले केदार कार्की नेतृत्वको सरकार उपधारा ५ बमोजिम बनेपछि बहुमतको सरकार बनाउन संविधानले मार्ग प्रशस्त गरेको दाबी गर्नु भयो ।
नेता कार्कीले राष्ट्रिय राजनीतिमा आएको फेरबदलसँगै सातै प्रदेशमा सरकार परिवर्तन हुने र कोशी प्रदेश एमालेकै नेतृत्वमा हुने सत्ता साझेदार दलबीच सहमति नजिक पुगेको बताउनु भयो । ‘कोशी प्रदेशको नेतृत्व शक्ति सन्तुलनको हिसाबले पनि एमालेले पाउने हो,’ नेता कार्कीले भन्नुभयो, ‘ढुक्क हुनुस् अबको केही दिनमा कोसी प्रदेशको नेतृत्व एमालेले गर्छ ।’
कार्कीले एमाले कोशी प्रदेश विघटन र मध्यावधिको पक्षमा नरहेको समेत स्पष्ट पार्नु भयो । वहाँले भन्नु भयो, ‘व्यक्ति विघटन होला, सपना विघटन होलान् तर संसद् विघटन हुने अवस्था छैन, केवल सत्ताबाट बाहिरिनु पर्ने भएपछि काँग्रेसले आक्रोश पोख्दै संसद् विघटनको हाल्ला गरेको हो ।’






प्रतिक्रिया राख्नुहोस्