तपाईँ सुन्दै हुनुहुन्छः

‘समाजवाद निर्माणका लागि बलियो कम्युनिष्ट शक्ति आवश्यक’

घोराही । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले समाजवाद निर्माणका लागि बलियो कम्युनिष्ट शक्ति आवश्यक रहेको बताउनुभएको छ ।

आज समाजवादी मोर्चा नेपाल, घोराही उपमहानगरपालिका वडा नम्बर १७ र १८ को संयुक्त वडा भेलामा मन्त्री शर्माले मुलुकमा राजनीतिक स्थिरता कायम गरी अहिलेको संविधान तथा राजनीतिक व्यवस्थालाई संरक्षण गर्दै शोषण, दमन, उत्पीडन, भेदभाव विरुद्ध समाजलाई सही दिशानिर्देश गर्न कम्युनिष्ट शक्तिको आवश्यक रहेको बताउनुभयो ।

उहाँले देशमा राजनीतिक स्थायित्व र स्थिरता प्रदान गर्न अहिले निर्माण भएको समाजवादी मोर्चालाई स्थापित गराइने बताउनुभयो ।

सरकारका प्रवक्ता समेत रहनुभएकी मन्त्री शर्माले सरकारले अब समाजवाद लक्षित बजेटको निर्माण गर्ने बताउनुभयो । उहाँले आर्थिक विकास, समृद्धि र स्वाधीन राष्ट्रिय औद्योगिक पुँजीवादको विकासतर्फ राष्ट्रलाई अग्रसर गराउँदै समुन्नत समाजवाद निर्माणतर्फ अगाडि बढ्ने उल्लेख गर्नुभयो ।

भ्रष्टाचारको अन्त्य गर्न राजनीतिमा शुद्धीकरणको खाँचो औँल्याउँदै उहाँले शिक्षा, स्वास्थ्य, विकास र जनताको समृद्धिका विषयलाई आफ्नो पार्टीले प्राथमिकतामा राखेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button