तपाईँ सुन्दै हुनुहुन्छः

पोखरा रङ्गशालाको मर्मतसंहार गर्न सहयोग गर्छु : मन्त्री श्रेष्ठ 

पोखरा । नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले पोखरा रङ्गशालाका भौतिक पूर्वाधारहरूको मर्मत तथा संहार गर्न आवश्यक सहयोग गर्ने बताउनु भएको छ । 

आइतबार पोखरा रंगशालाको अवलोकन गर्दै मन्त्री श्रेष्ठले पोखरा रङ्गशालामा निजी सहित सरकारी स्तरबाट देशकै नमुना खेलकुदका केही संरचना निर्माण भएकोमा प्रशंसा गर्दै निर्माण भएका भौतिक पूर्वाधारहरूको मर्मत तथा संहार गर्न विशेष पहल गर्ने बताउनु भएको हो । 

पोखरा रङ्गशालामा विभिन्न अन्तर्राष्ट्रिय स्तरका खेलहरू समेत भएको अवस्थामा बाँकी रहेका केही भौतिक पूर्वाधार निर्माणमा आफूले विशेष पहल गर्ने उहाँले वचन दिनु भयो । पोखरा रंगशालाको हाल मर्मत संहार गर्नुपर्ने अत्यावश्यक खेल संरचनाको आवश्यक डकुमेन्ट समेत मन्त्री श्रेष्ठले माग गर्नु भयो । 

खेलकुदमा चाकडी गर्ने परिपाटीले गर्दा खेलकुद क्षेत्र अघि बढ्न नसकेको उहाँको भनाई थियो । पोखराको बेगनास तालमा आइतबार देखि सुरु भएको प्रथम राष्ट्रिय ड्रागन बोर्ट रेस प्रतियोगिताको उद्घाटन गर्न पोखरा आउनु भएको मन्त्री श्रेष्ठले पोखरा आएको सन्दर्भमा रंगशालाको अवलोकन गर्नु भएको हो । राष्ट्रिय स्वतन्त्र पार्टीका युवा नेता समेत रहनु भएको मन्त्री श्रेष्ठले भन्नु भयो, “खेलकुदको विकास गर्न एक प्रशिक्षकले आफ्ना खेलाडीहरू उत्पादन गर्नु भन्दा पनि कुन नेताको कसरी नजिक हुँदा आफूलाई फाइदा हुन्छ, कसरी चाकडी गर्न सकिन्छ भन्ने सोच्नाले नेपाली खेलकुदको विकास हुन सकेन, अब चाकडी गर्ने प्रथाको अन्त्य गर्नुपर्छ । ” 

मन्त्री श्रेष्ठ समक्ष पोखरा रङ्गशालामा हिटिङ सहितको स्विमिङ पुल, फुटबल स्टेडियममा फ्लट लाइट, सुटिङ ट्रेनिङ सेन्टर आवश्यक भएको, तथा पोखरामा अन्तर्राष्ट्रिय क्रिकेट मैदानको थप मर्मत संहार सहित पेभिलेन्ट निर्माण गर्नु पर्ने माग गरिएको जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष तोरण बहादुर बानियाँले बताउनु भयो । 

त्यसैगरी स्क्वास, गल्फ, भलिबल, मुआथाई लगायतका खेल मैदान तथा कोर्टहरूको बारेमा जनाकारी गराइएको राखेपका सदस्य राजेश कुमार गुरुङले जनाउनु भयो । पोखरा रंगशालाको कभर्ड हलमा इको आउने भएकोले गर्दा त्यसको उचित व्यवस्थापन गर्नुपर्ने समेत मन्त्री समक्ष जानकारी सहित माग गरिएको उहाँले जनाउनु भयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button