सिक्टा सिंचाईद्वारा लिफ्ट सिँचाइ योजना सुरु
नेपालगञ्ज । राष्ट्रिय गौरबको सिक्टा सिँचाइ आयोजनाले नहरको पानी नपुग्ने ठाउँहरूमा सिँचाइ सुविधा पुर्याउन लिफ्ट सिँचाइ योजना सुरु गरेको छ । सिक्टा सिँचाइले हाल चार स्थानमा जल उपभोक्ता समिति गठन गरेर योजना सुरु गरेको हो ।
कचनापुरका दुई स्थान तथा बालापुर र ढकेरीमा लिफ्ट सिँचाइ जल उपभोक्ता संस्था गठन गरेर प्रक्रिया अगाडि बढाइएको सिक्टा सिँचाइ आयोजनाका निर्देशक देवराज निरौलाले बताउनुभयो । हामीले अहिले जहाँ जहाँ पानी छोडेका छौँ, ती क्षेत्र मध्ये केही स्थानमा नहरमार्फत पानी नपुग्ने देखिएपछि लिफ्टमार्फत सिँचाइ सुविधा पुर्याउने उद्देश्यले लिफ्ट सिँचाइ योजनाको अबधारणा अनुरुप काम अगाडि बढाएका छौँ, निरौलाले भन्नुभयो ।
ढकेरी लिफ्ट सिँचाइ जल उपभोक्ता संस्थाका अध्यक्ष रामबहादुर भण्डारीले सिक्टा सिँचाइले उँचो भागमा रहेको जमिन जहाँ नहरको पानी पुग्दैन, त्यस्तो ठाउँमा लिफ्टमार्फत सिँचाइ गर्ने नीति लिएर लिफ्ट सिँचाइ संस्था दर्ता गर्नु निकै सराहनीय कार्य भएको बताउनुभयो । यसले सिँचाइ सुविधाबाट बञ्चित किसान लाभान्वित हुने भण्डारीको भनाई छ ।

बालापुर लिफ्ट सिँचाइ जल उपभोक्ता संस्थाका अध्यक्ष लोकेन्द्रबहादुर विष्टले पश्चिमी नहरको उत्तरतर्फको जमिनमा नहरको पानी नचढ्ने भएकाले वैकल्पिक उपायका रुपमा विकास गर्न थालिएको लिफ्ट सिँचाइ प्रणालीले किसानहरू लाभान्वित हुने विश्वास ब्यक्त गर्नुभयो ।
निर्माणाधीन सिक्टा सिँचाइबाट हालसम्म बाँके जिल्लाको करिब ५० प्रतिशत भूभागमा सिँचाइ सुविधा पुगेको छ । ४२ हजार ७ सय ६६ हेक्टर कृषियोग्य जमिनमा व्यवस्थित सिँचाइको लागि पानी पु¥याई कृषि उत्पादन वृद्धि गर्ने उद्देश्यका साथ आयोजना निर्माणको काम भइरहेको छ । आयोजना प्रमुख निरौलाले ४५ किलोमिटर लामो पश्चिमी मूल नहरको निर्माण कार्य सम्पन्न भइसकेको बताउनुभयो । निरौलाले पूर्वी नहर पनि साढे ३७ किलोमिटर बनिसकेको जानकारी दिँदै साढे ७ किलोमिटरमा रेखाङ्कनको काम भएको र बाँकी ८ किलोमिटरमा सर्भे र डिजाइनको काम भइरहेको बताउनुभयो ।
पूर्वी नहरबाट ९ हजार हेक्टरमा सिँचाइ गर्ने लक्ष्य छ । त्यसमध्ये अहिले ४२ सय हेक्टरमा सिँचाइ पुगेको छ । अहिले जेठी नालासम्म पानी छोडिएको छ । केही शाखा बनिरहेका छन्, केही बन्ने चरणमा छन्, केही बनिसके,ू निरौलाले भन्नुभयो । सिक्टाको पानीबाट बाँकेमा हालसम्म २१ हजार हेक्टर जमिनमा सिँचाई पुगेको निरौलाको भनाई छ । यो पानी किसानहरुले बर्खे र हिउँदै दुबै बालीमा प्रयोग गरिरहेका छन्, आयोजना प्रमुख निरौलाले भन्नुभयो,खेती गर्ने जिल्लाका आधा जसो जनसंख्याले पानी पाउने गरी काम सम्पन्न भइसकेको छ ।

राप्तीसोनारी गाउँपालिकाको अगैयास्थित राप्ती नदीमा मुख्य बाँध निर्माण गरी आयोजनाको काम अघि बढाइए यता हालसम्म करिब साढे २० अर्ब रुपैयाँ खर्च भएको छ । मूल बाँध र पश्चिमी नहर निर्माणको काम सम्पन्न भइसकेको छ । बीचमा रोकिएको निर्माणाधीन अवस्थामा रहेको पूर्वी नहरको काम पनि सुरु गर्न लागिएको आयोजनाले जनाएको छ ।
नहर बनाउने बेलामा दिनुपर्ने मुआब्जा रकमको अभाव भने झेलिरहेको सिक्टा सिँचाइ आयोजनाले जनाएको छ । अझै ३२ अर्ब लागत अनुमान गरिएको आयोजना निर्माणको काम सम्पन्न भए पश्चात बाँकेमा १७ हजार घरधुरीका ४ लाख जनसंख्या लाभान्वित हुने अपेक्षा छ ।







प्रतिक्रिया राख्नुहोस्