तपाईँ सुन्दै हुनुहुन्छः

शिक्षा, स्वास्थ्य र रोजगारीमा सुधार आवश्यक : उपमहासचिव शर्मा

खोटाङ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव तथा पूर्व अर्थमन्त्री जनार्दन शर्माले नेपालको शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा सुधार आवश्यक रहेको बताउनुभएको छ ।

पार्टी कार्यकर्ता प्रशिक्षण तथा ‘दिलकाजी–ठूलकुमार स्मृति प्रतिष्ठान’को भवन उद्घाटनका लागि खोटाङ आउनुभएका नेता शर्माले समाज परिवर्तनका लागि देशका तीनवटै सरकारको ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो ।

देशमा पछिल्लो समय नेताको लहडमा विकास गर्ने प्रवृत्ति मौलाएको प्रति इङ्गित गर्नुहुँदै उहाँले विकासको मोडालिटी परिवर्तन गर्न आवश्यक रहेको पनि बताउनुभयो । “नेताहरूले केलाई प्राथमिकीकरण गर्ने हो त्यो स्पष्ट हुनुपर्यो । पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेतृत्व गर्नुभएको सरकार भ्रष्टाचार नियन्त्रण अभियानमा छ । योसँगै परराष्ट्र नीतिलाई समेत सन्तुलित बनाउनुपर्‍यो”, उहाँले भन्नुभयो, “सन्तुलित परराष्ट्र नीति भएमा मात्र देशले केही निकास पाउँछ ।”

नेता शर्माले जनप्रतिनिधिले सामाजिक न्याय, न्याय सम्पादन, निष्पक्षता र जनमुखी काम गर्नुपर्नेमा जोड दिनुभयो ।

दिक्तेलस्थित भवन गैरामा निर्माण गरिएको प्रतिष्ठानको भवन उद्घाटन गर्दै नेता शर्माले सहिदहरूको सपना पूरा गर्न हरेक नेतृत्वले पहलकदमी लिनुपर्ने बताउनुभयो ।

उहाँले प्रतिष्ठानको भवनसँगै सोही भवनमा स्थापना गरिएको पुस्तकालय समेत उद्घाटन गर्नुभयो । प्रतिष्ठानको छ आना जग्गामा निर्माण गरिएको चारतले पक्की भवनमा नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समिति खोटाङको कार्यालय समेत राखिएको छ ।

भवन निर्माणका लागि कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०७५/७६ मा रु २० लाख, आव २०७६/७७ मा रु एक करोड २० लाख, आव २०७८/७९ मा रु १० लाख गरी रु एक करोड ५० लाखमा बजेट बिनियोजन गरेको थियो । प्रतिष्ठानका अध्यक्ष सुरेश राईले भवनका लागि आव २०८९/८० मा कोशी प्रदेश सरकारबाट प्राप्त रु ७५ लाख र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट आव २०७९/८० मा रु १० लाख प्राप्त भएको बताउनुभयो ।

नगरपालिकाबाट प्राप्त रु १० लाख रकमबाट नगरपालिकाभित्र रहेका २५ जना द्वन्द्वपीडितलाई रु १५ हजारका दरले उपलब्ध गराइएको जनाइएको छ ।

विसं २०७५ पुस २७ गते तत्कालीन प्रदेशसभा सदस्य (वर्तमान प्रतिनिधिसभा सदस्य) रामकुमार राई ‘पासाङ’, सहिद माता जयन्तादेवी कार्की र सहिद पत्नी शान्ति श्रेष्ठले संयुक्त रूपमा भवनको शिलान्यास गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button